पाल्पा,२२ असार ।
लगातारको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक अवरुद्ध भएको छ । पहिरोले कालीगण्डकी करिडोर र पाल्पाको आर्यभन्ज्याङ–रामपुर सडक पनि बन्द भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल खण्डको बर्तुङ र कालीमाटी क्षेत्रमा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।

त्यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको डुम्रे र चर्चरेको बिच कालीमाटीमा दुई वटा पिकअप जिप पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष यही स्थानमा वर्षायाममा लेदो खसे पनि नियन्त्रण नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । सिद्वार्थ राजमार्गकै अगाहाखोला र पिपलडाँडाको बीच सीता पहाडमा तथा राम्दी क्षेत्रमा पनि पनि पहिरोले सडक अवरुद्ध भएको छ ।

उता पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौली मालमुलमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा घरमा क्षति पुगेको छ । पार्किङ गरी राखेको दुई वटा मोटरसाइकलमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

तानसेन–रिडी सडक खण्डको मालमुल, अर्गली, लघुवा, जोर्ते लगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । आर्यभन्ज्याङ रामपुर सडकको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत सहदीखोला, भोअर लगायतका स्थानमा पहिरो खसेको छ ।

सडकमा खसेको हटाउने सडक विभाग र निजी क्षेत्रका डोजर परिचालन गरिएको प्रहरीले जनाएको छ । रातिदेखि नै सडक अवरुद्ध भएपछि पहाडी जिल्लाबाट बुटवल जाने र बुटवलबाट पाल्पा लगायत पहाडी जिल्ला आउने सवारीसाधन बिच बाटोमै अलपत्र परेको छ ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

पाल्पा लगायतका आसपासका क्षेत्रमा शुक्रबार बेलुकीदेखि नै ठूलो पानी परेको छ । तिनाउ नदी बुटवल जलमापन केन्द्रले तिनाउ नदिले जलसतह पार गरेको र बढ्दो क्रम रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ ।