बुटवल,२१ असार ।
सुन तथा चाँदीका गरगहनासहित रुपन्देहीकाे राेहिणीबाट एक
भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनार रहेका छन् ।
उनलाई रुपन्देहीको रोहिणी गाउँपालिकाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रोहिणी गाउँपालिका ७ लट्ठाबाट ७ तोला १०.७ लाल तौलको सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्रामको पहेँलो धातुले बनेको २ थान छप्का तथा ६ थान कानको रिङसहित सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपी ५६ एडि ८०३६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका सुनारलाई जाँच गर्ने क्रममा उक्त सामाग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।