बुटवल,२० असार ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) आजै सरकारबाट बाहिरिने तयारी गरेको छ ।

एमाले संसदीय दलका उपनेता एवं आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आज बेलुका ६ बजेतिर मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको जानकारी दिए ।

पार्टी केन्द्रको निर्देशन अनुसार आजै मुख्यमन्त्रीलाई भेटेर एमालेका सबै मन्त्रीहरूले पदबाट राजीनामा बुझाएर समर्थन पनि फिर्ता लिने उनको भनाइ छ ।

एमालेबाट आचार्यको नेतृत्वमा दिनेश पन्थी आन्तरिक मामिला तथा कानून मन्त्री,भूमीश्वर ढकाल सहरी विकास तथा खानेपानी मन्त्रालय,अर्जुन कुमार केसी वन तथा वातावरण मन्त्रालय र रत्नबहादुर खत्री सामाजिक विकास मन्त्री रहेका छन् ।

२०८० चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमाले–माओवादी गठनबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ती पाटीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादीकी एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका महरा केन्द्रमा कांग्रेस–एमाले सत्ता समीकरण भएपछि लुम्बिनीमा एमाले सरकारबाट बाहिरिदा मुख्यमन्त्री महरा अल्पमतमा पर्छन् ।

८७ सासद संख्या रहेको लुम्बिनी प्रदेशसभामा नयाँ सरकार बनाउन बुहमत ४४ सांसद भए पुग्छ । एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसद संख्या रहन्छ ।