पाल्पा,१९ असार ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले शासकीय सुधार र संविधान संशोधनका लागि सरकार परिवर्तन गर्न लागिएको हो भने उक्त कदम उचित भएको बताएका छन् ।
नेपाली राजनीतिका शिखर पुरुष स्व. गिरिजा प्रसाद कोईरालाको १०१ औं जन्मजन्तीको अवसरमा पाल्पाको रामपुरमा आयाेजित कार्यक्रममा सभापति श्रेष्ठले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
साे अवसरमा रामपुर नगर कार्यसमितिको घुम्ती बैठकलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले नयाँ सत्ता समिकरण बारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले भने, ‘मुलुकको शासकीय प्रणालीमा सुधार र संविधानमा देखिएका समस्या समाधानका लागि संशोधन गर्न सत्ता समिकरण परिवर्तन भएको हो भने यो कदम उचित छ । तर पद र सत्ताका लागि मात्र हो भने त्यो प्रतिउत्पादक मात्र हुनेछ ।’ उनले जनप्रतिनिधि र कार्यकर्ताहरुलाई जनताको पक्षमा रहेर काम गर्न आग्रह समेत गरे ।
बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य कृष्ण प्रसाद अधिकारी, विष्णु मायाँ ढकाल, कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, नेपाली कांग्रेस पाल्पाका पूर्व सचिव माधव नेपालले मुलुककाे पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको रणनीति बारे आ आफ्नो धारणा राखका थिए ।
साे अवसरमा पार्टीका क्रियाशिल सदस्यहरुलाई सदस्यता वितरण गरेको थियो ।
त्यस अवसरमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले विपि कोईराला स्मृति अक्षयकोष घोषणा गरेको छ । कोषको लागि जिल्ला सभापति हिमालदत्त श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ
प्रदान गर्ने घोषणा गरे ।
नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापिति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठक नगर वडा कार्यसमिति रामपुर ६ का सभापति गोविन्द प्रसाद देवकोटाको स्वागत र नगर कार्यसमितिका सचिव चिरञ्जीवि सिग्देलको सञ्चालनमा भएको थियो ।