Share this News on Social Networking Pages

बुटवल,१५ असार ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा पनि दही चिउरा कार्यक्रम सम्पन्न भएको छ ।

संघमा गठित डेरी बस्तुगत समितिले दही चिउरा खाने दिनको पूर्वशन्ध्यामा शुक्रबार दही चिउरा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए । उनले दही चिउरा खाने दिनको पनि आफ्नै विशेषता र महत्व रहेको बताउँदै दही चिउराले शरीरलाई सितलता र शक्ति प्रदान गर्ने भएकाले यसको महत्व भिन्नै रहेको उल्लेख गरे ।

त्यस्तै संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले कृषि प्रधान देशमा अर्बौंको कृषि उत्पादन आयात हुनु दुर्भाग्य रहेको बताउँदै कृषिको व्यवसायिक र बैज्ञानिकीकरणमा जोड दिनुभयो । उनले कृषि प्रधान देशमा कृषिको व्यवसायिक विकास गरी कृषिजन्य बस्तुको आयात प्रतिस्थापन र निर्यातको योजना बनाएर सोही अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य तथा डेरी बस्तुगत समितिका समन्वयकर्ता दीपकप्रसाद चापागाई, बस्तुगत समितिका उपसभापति जिवलाल न्यौपाने, सचिव यामप्रसाद शर्मा लगायतले दही चिउरा खाने दिनको विशेषता र महत्वमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, बस्तुगत समितिका पूर्वसभापतिहरु, सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष धान दिवस असार १५ गते रोपाइँ गरी दही चिउरा खाएर मनाइन्छ । आज धान दिवसमा पनि रोपाई गरिएको छ । त्यस्तै दही चिउरा खाईएको छ । मानो रोपेर मुरी फलाउनको लागि आज जताततै रोपाई गरिएको छ । तीनै तहका सरकारले आज विशेष रुपमा धान दिवस मनाएका छन् ।

वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाएका छन् ।

मध्य गर्मीको यो समयमा युवा, युवती, रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गरेका छन् । कामको चटारोले थकित भएका किसानले शक्तिप्राप्तिका लागि दही चिउरा खाने प्रचलन छ । दही चिउराले शरीरमा शीतलता प्रदान गर्ने र काममा व्यस्त भएका किसानलाई दही चिउराले शक्ति प्रदान गर्ने विश्वास गरिन्छ ।