बिपद जाेखिम ब्यवस्थापनका लागि आवश्यक उपकरणको अभावमा ठूलो क्षती भएको गुनासो
बुटवल,१० असार ।
आगलागिबाट पूर्ण रुपमा क्षती भएको बुटवलको डेल्टा एजुकेशन मार्ट प्रा.लि. पुनः सञ्चालन गर्ने तयारी भएको छ ।
डेल्टा एजुकेशनल मार्ट प्रा.लि.ले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी यहि असार १६ गतेदेखि मार्टकाे एजुकेशन डिपार्ट पुनः सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराईएको हो ।
बजारमा ग्राहकसंग भएको दायित्व बोध गर्दै मार्ट पुनः सञ्चालन गर्ने तयारी गरिएको डेल्टा एजुकेशनल मार्ट प्रा.लि.का अध्यक्ष लोकनाथ उपाध्यायले जानकारी दिए ।
कम्पाउण्ड भित्रै रहेको गोदाम घरमा मार्टका सेवा सञ्चालन गर्ने तयारी गरिएको उनलेे बताए ।
डेल्टा एजुकेशन मार्ट प्रा.लि.ले किताव कापी, विद्यालय तथा कलेजका पोषाक तथा व्याग विक्रि वितरण गर्दै आएको थियो ।
तत्कालको लागि डेल्टा एजुकेशन मार्टले प्रदान गरेका सेवा दिनेगरी मार्ट सञ्चालन गर्न लागिएको र अन्य सेवा दशैंसम्ममा पुनः सञ्चालन गर्ने आफूहरुको मनसाय रहेको अर्का सञ्चालक गणेशचन्द्र पोखरेलले बताए ।
बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्टमा यहि असारको ६ गते साझ भएको आगलागिबाट डेल्टा एजुकेशन मार्ट सहित त्यस भवनमा रहेका अन्य ब्यवसायीक पसलहरू जलेर नष्ट भएको थियो ।
६ गते साँझ करिव साढे ६ बजे लागेको आगो अर्कोदिन मात्रै नियन्त्रणमा आएको थियो । जसमा उक्त भवन पूर्ण रुपमा ध्वस्त भएको छ । आगलागिबाट भएको क्षतीको विस्तृत अध्ययन भईरहेको जानकारी गराउँदै सञ्चालक चोलाप्रसाद पाठकले कम्तिमा ४४ करोड रुपैंयाको क्षती भएको प्रारम्भिक अनुमान गरिएको बताए ।
बिपद जाेखिम ब्यवस्थापनका लागि आवश्यक उपकरणको अभावमा ठूलो क्षती ब्यहाेर्नुपरेकाे सञ्चालकहरूकाे गुनासो छ ।