बुटवल,१० असार ।
रूपन्देहीको देवदह नगरपालिकाले डेढ अर्व बढीको बजेट ल्याएको छ ।

सोमबार नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले १ अर्व ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरेकी हुन् ।

विनियोजित बजेटमा आ.व. ०८१/०८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।

संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व वाडफाड मार्फत आम्दानी हुने अनुमान गरिएको छ ।

बजेटमा संघीय सरकारबाट विभिन्न शिर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ ।

गतवर्ष करिव १ अर्व ३२ करोडको बजेट ल्याएको देवदहले आगामी आर्थिक वर्षको लागि भने बजेटको आकारमा वृद्धि गरेको छ । स्रोत सुनिश्चितता बिना नगरपालिकाले झन्डै १८ करोड रूपैयाँ वृद्धि गरेर बजेट ल्याएको हो ।

बजेटकाे आकार बृद्वि गरिएपनि आन्तरिक आयमा भने सोही अनुसार वृद्धि हुने आधार देखिदैन ।

गत वर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरले असारको पहिलो हप्तासम्म १० करोड २० लाखको हाराहारीमा राजस्व संकलन गरेको छ । यद्यपि आगामी आवको लागि प्रस्तावित बजेटमा भने अहिले संकलित राजश्वको दोब्बरभन्दा बढी संकलन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

अधिकांश बजेट अनुत्पादक र टुक्रे योजनामा

गतकर्ष जस्तै देवदह नगरपालिकाले यो बर्ष पनि बजेटको अधिकांश हिस्सा अनुत्पादक र टुक्रे योजनामा खर्चिएको छ ।

१० हजारदेखि बजेट विनियोजन गर्न सुरु गरेको नगरपालिकाले मन्दिर र संघसंस्थाका भवन निर्माण र सामग्री खरिद जस्ता अनुत्पादक क्षेत्रमा रकम विनियोजन गरेको छ ।

अघिल्ला आर्थिक वर्षहरूमा समेत यसरी अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरेकोमा जनस्तरबाट आलोचित हुँदै आएको देवदह नगरपालिकाले पुन: सोही प्रकारका कार्यक्रमलाई निरन्तरता दिएको हो । महालेखा परीक्षकको प्रतिवेदनमा समेत अनुत्पादक क्षेत्रमा बजेट नखर्चिन सजग गराइएको भएपनि नगरपालिकाले त्यसलाई वेवास्ता गरेर बजेट ल्याएको छ ।

नगरस्तरिय कुल २५४ योजनामध्ये १० हजार देखि एक लाख सम्मका योजना मात्रै ६५ वटा रहेका छन् । यसरी हेर्दा कुल योजनाको २५ प्रतिशतभन्दा बढी नगरस्तरिय योजनामा मात्र १ लाखसम्मका छन् ।

१२ वटा वडा रहेको देवदह नगरपालिकामा वडास्तरिय योजनाको कुल संख्या ४८६ रहेको छ । जसमा १४७ वटा योजना मात्र १ लाखसम्मका छन् । जुन कुल योजना संख्याको ३० प्रतिशत भन्दा बढी हुन आउँछ ।

कुन शिर्षकमा कति बजेट ?

नगरपालिकाले ल्याएको बजेटमा आर्थिक विकास तर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमा कृषि तर्फ ५६ लाख, पशु विकास तर्फ ३१ लाख ३० हजार, सहकारी तर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदा तर्फ ५६ लाख, उद्योग वाणिज्य तर्फ ५५ लाख, भुमि व्यवस्था तर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिवी निवारण तर्फ २ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ ६ करोड ३३ लाख ४९ हजार ५०० रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षा तर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शिर्षकमा ५ लाख विनियोजन गरिएको छ ।

पुर्वाधार विकासमा ७ करोड २० लाख विनियोजन गरिएको छ । विपद व्यवस्थापनमा ८३ लाख ४० हजार, संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख ७५ हजार छुट्याइएको छ ।

नगर प्रमुख र उप-प्रमुख सम्बोधित कार्यक्रमलाई १/१ करोड

सधै झैँ यो वर्ष पनि नगर प्रमुख र उपप्रमुख सम्बोधित कार्यक्रमलाई १/१ करोड विनियोजन गरिएको छ । जसमा नगर प्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ५० लाख राखिएको छ भने सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ५० लाख छुट्याइएको छ । त्यसैगरी उपप्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ३० लाख र सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ७० लाख रुपैया विनियोजन गरिएको छ ।

साथै नगर प्रमुख उद्यमी कार्यक्रम शिर्षकमा ५० लाख र नगर उपप्रमुखसंग महिला कार्यक्रमा शिर्षकमा २५ लाख छुट्याइएको छ ।