बुटवल,१० असार ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले पुसमा गर्ने औद्योगिक व्यापार मेलाको लागि मुल आयोजक समिति गठन गरेको छ ।
सोमबार बसेको संघको कार्यसमिति बैठकले संघका अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा मुल कार्यसम्पादन समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
मेलाको प्रारम्भिक कार्य अगाडि बढाउने गरी गठन गरिएको मुल कार्यसम्पादन समितिको मुल्याकंन संयोजकमा निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजु रहेका छन् । त्यस्तै मेलाको सहसंयोजकमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपसंयोजकमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहेकाे संघले जनाएको छ ।
महासचिव मुक्तिप्रसाद अधिकारी सदस्य सचिव रहेको मुल कार्यसम्पादन समितिको सदस्यमा बाँकी पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई राखिएको छ । संघले यस अंगाडि नै पुसको ३ देखि १८ गतेसम्म औद्योगिक व्यापार मेला गर्ने निर्णय गरेको थियो ।
मेला सम्पन्न गर्नको लागि प्रारम्भिक कार्य सम्पादन गर्नको लागि तत्काल मुल कार्यसम्पादन समिति गठन गरिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । उनका अनुसार यो समितिले प्रारम्भिक चरणका कार्यहरु गर्नेछ भने क्रमशः विषयगत समितिहरु गठन गरिनेछ ।
बैठकमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले बैठकमा उठेका सम्बन्धित विषयमा जानकारी गराएका थिए ।