पाल्पा,८ असार ।
पाल्पाको तानसेन नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । नगरपालिकाकाे १५ औँ नगरसभा अन्तर्गत पहिलो बैठकमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

त्यस्तै एकैदिन बसेकाे दाेस्राे बैठकमा उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बजेट प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख सिंजालीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड ७६ लाख २० हजार बराबरको आय-व्यय सभामा प्रस्तुत गरेकी छन् ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि वित्तीय व्यवस्था समेत चालु खर्चतर्फ ८४ करोड ७७ लाख ७ हजार अर्थात् ४७.९६ प्रतिशत र पुँजीगत खर्चतर्फ ९१ करोड ९९ लाख १३ हजार अर्थात् ५२.४ प्रतिशत रहेको छ । आर्थिक विकास क्षेत्रतर्फ ६ करोड २ लाख ४६ हजार, भौतिक पूर्वाधारतर्फ ८३ करोड ८१ लाख ९२ हजार, सामाजिक विकासतर्फ ६९ करोड ३७ लाख ५९ हजार रहेको छ ।

सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड ८८ लाख ३७ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ६५ लाख ८५ हजार रहेको छ । उपप्रमुख सिंजालीका अनुसार सहरी शासकीय कार्यक्रमतर्फको पुँजीगत रकमका कारण पुँजीगत खर्च बढी देखिएको हो ।

चालु आर्थिक वर्षमा तानसेन नगरपालिकाले १ अर्ब २ करोड ८० लाख ६४ हजार आय हुने अनुमान गरेकामा जेठ मसान्तसम्म ८० करोड २० लाख १९ हजार अर्थात् लक्ष्यको ७८ प्रतिशत आय भएको छ । आयमध्ये यस अवधिमा चालु खर्चतर्फ ५४ करोड १४ लाख २५ हजार अनुमान गरेकामा ४७ करोड ९२ लाख ७२ हजार र पुँजीगततर्फ ४६ करोड ६६ लाख ३९ हजार अनुमान गरिएकोमा १९ करोड २९ लाख २१ हजार गरी ६७ करोड २१ लाख ९४ हजार अर्थात् ६५ दशमलव ३८ प्रतिशत खर्च गरेको उपप्रमुख सिंजालीले जानकारी दिइन् ।

सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउँदै वित्तीय अनुशासन र सुशासन कायम गर्ने, नगरवासीको न्यूनतम् आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने, कृषिको व्यवसायीकरण र पर्यटन विकास मार्फत् रोजगारी सृजना गर्ने र गरिबी न्यूनीकरण गर्ने बजेटको उद्देय रहेको उनले बताइन् । सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै विकासमा साझेदार बनाउने प्रेरित गर्ने, उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोग गर्ने, समाजवाद उन्मुख आत्मनिर्भर समाज निर्माण गर्न सयहोग पुर्‍याउने, बजेट नीति तथा कार्यक्रमलाई दिगो विकास लक्ष्यसँग तादम्यता कायम गर्ने उद्देश्य रहेको छ ।

सार्वजनिक सेवा प्रवाह र सुशासन प्रबर्धन, पूर्वाधार विकास र पुँजी निमाण, शिक्षामा गुणात्मक विकास, कृषि क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरण, आयआर्जन र स्वरोजगार र मानव संशाधन विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन प्राथमिकतामा राखिएको छ । आर्थिक, सामाजिक विकासका साथै बहुवर्षीय योजना तथा चालु आर्थिक वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता बजेट विनियोजन भएको उनले बताइन् ।