बुटवल, ७ असार ।
सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने क्यान्सर लगायतका राेग नियन्त्रणका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सल अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज पत्रिकाको सहकार्यमा शुक्रबार बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बाेल्ने सराेकारवालाहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुख लगायको क्यान्सर बढ्दै गएको भन्दै उनिहरूले त्यसको नियन्त्रणका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले उपमहानगरभित्र टोल विकास संस्था, आमा समूह लगायत विभिन्न क्लवहरुलाई लक्षित गर्दै सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा. शम्भु खनालले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका लागि प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने बताए ।

उनले सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखमा हुने क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले सूर्तीजन्य पदार्थको प्रयोगमा वार्षिक ५४ अर्व रुपियाँ खर्च हुने गरेको र यसबाट निम्तिने क्यान्सरको उपचारमा राज्यलाई ४० अर्व व्ययभार हुने भन्दै स्थानीय तहबाटै यसको नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।

पछिल्लो समय सुर्तीजन्य पदार्थ प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको संख्यासमेत बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघातलगायत रोग हुने गरेका छन् । नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्यांक छ ।

अस्पताल, शैक्षिक संस्था, सार्वजनिक स्थान र मन्दिर छेउँछाउँमा सूर्तिजन्य पदार्थको बिक्री वितरण र प्रयोग गर्न नपाइने कानुनी प्रावधान छ ।

‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ ले यसलाई कानून विपरित मान्छ । यही ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्री वितरण र सेवन गर्न बर्जित गरेको छ । अस्पताल लगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तिजन्य पदार्थको बिक्रि वितरण गर्न नपाइने ऐनमा उल्लेछ ।

तर यो ऐन कतै लागू नभएको सरोकारवालाको भनाई छ ।

तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कमल पाण्डेले तिलोत्तमाभित्र पसल तथा सार्वजनिक स्थलहरुमा समेत सुर्तिजन्य पदार्थको किनबेचमा रोक लगाइएको र यसको प्रभावकारी कार्यान्वयन गरिएको दावी गरे ।

हेल्थ आवाजका कार्यकारी सम्पादक भिषा काफ्लेले सुर्तिजन्य पदार्थको प्रयोग र सेवनबाट क्यान्सरको जोखिम सबभन्दा बढी हुने र यसको नियन्त्रणका लागि तीर्नै तहका सरकारहरु जिम्मेवार बन्न नसकेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सुर्तिजन्य पदार्थबाट हुने जोखिमबाट आम नागरिकमा सन्देश पु¥याउन जरुरी रहेको भन्दै यसका लागि सबैभन्दा पहिले सञ्चारकर्मीहरुलाई अभिमुखीकरण जरुरी रहेकोमा जाेड दिए ।