बुटवल,१५ फागुन ।
आज ४२ औँ मगर एकता दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघकाे प्रथम अधिवेशन भएको थियो । त्यसैको सम्झनामा मगर संघ र सम्बन्धित संघ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

मगर संघका पूर्व केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिए पनि मगर संघले २०३९ साल फागुन १५ लाई नै स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।

दिवसमा आज विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् । पाल्पाका सबै पालिकामा आज स्थानीय बिदा छ ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न ठाउँमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम हुँदैछन् । बर्दघाट सुस्तापूर्वका आठवटै पालिकामा बिदा छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाले पनि आज बिदा दिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसंख्याकाे ६ दशमलव ९ प्रतिशत अर्थात् २० लाख १३ हजार चार सय ९८ रहेको छ ।