पाल्पा, १४ फागुन ।
मगर एकता दिवसकाे अवसरमा मंगलबार पाल्पाका सवै पालिकाहरुले स्थानीय विदा दिएका छन् ।
४२ औं मगर एकता दिवसका अवसरमा पाल्पाका दुई नगरपालिका र आठ गाउपालिकाले स्थानीय बिदा दिएका हुन् ।
तानसेन र रामपुर नगपालिका संगै बगनाँसकाली गाउँपालिका, निस्दी, माथागढी, तिनाउ, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट र पूर्वखोला गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । बिदाका दिन पालिकाभित्रका सरकारी निकाय, संघसंस्था, शैक्षिक संघसंस्था लगाएतका कार्यालयहरु बन्द रहने बिज्ञप्ती मार्फत जानकारी दिएका छन् । पाल्पा मगर समुदायको बाहुल्य रहेको जिल्ला हो ।
मगर संघ स्थापना भएको दिनको संझनामा मनाउँदै आएको मगर एकता दिवसले गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृतिक अधिकारहरु निश्चित गराउन, पहिचानका आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि भएका आन्दोललाई थप ऊर्जा पुग्ने मगर संघका नेताहरुले जनाएका छन् ।
मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यले दिवस मनाइने मगर संघ, पाल्पाका अध्यक्ष शान्ती झेडीले जानकारी दिइन् । जिल्लाका सवै पालिकामा मगर संघ, आदिवासी जनजाति महासंघ लगाएतका आयोजनामा गरिने कार्यक्रममा मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगाएतका विभिन्न झाँकीको प्रस्तुति रहने अध्यक्ष झेडीको भनाई छ । दिवस मनाउने स्थलमा मगरी खानाका परिकार बिक्री तथा प्रर्दशनी समेत गरिने आयोजकले जनाएका छन् ।