अपारदर्शिता र बहुमतकाे दम्भ देखाएको आराेप
देवदह,१४ फागुन ।
रूपन्देहीको देवदह नगरपालिकाका बहुमत वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेका छन् ।

नगरपालिकाका २२ वडा मध्येका ७ वडा अध्यक्षहरूले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

नेपाली काँग्रेस र राप्रपाको चुनाब चिन्हबाट निर्वाचित जनप्रतिनिधिले सोमबार नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्न गएका वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई बाहिर निस्कन आग्रह गर्दा नमानेपछि केहीबेर तनावकाे स्थित उत्पन्न भएको थियो ।

नगरपालिकामा एकलौटी निर्णय गरिएको र आफु खुसी निर्णय गर्दा सुशासनमा समस्या देखिएको विरोधमा उत्रिएका वडा अध्यक्षहरूको आरोप छ ।

तालाबन्दी लगत्तै गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा वडा अध्यक्षहरूले प्रारम्भदेखि नै कार्यपालिकाभित्र छलफलमा बहुमतको बलमै निर्णयहरु स्थापित गर्ने दम्भको संस्कार बसाल्ने कार्य भएको र २०८० पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वटामध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ८ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट (असहमति) राख्दा समेत बहुमतीय दम्भ देखाएकाे जनाईएको छ ।

देवदह नगर सरकारलाई चुस्त, दुरुस्त र सुशासनयुक्त ढंगबाट अगाडि बढाउनका लागि भएका छलफलहरु सार्थक नदेखिएपछि आन्दोलन स्वरूप ताला लगाउनु परेको उनीहरूको भनाई छ ।

तालाबन्दीमा देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव र वडा नं १२ का वडा अध्यक्ष डेग बहुदर सारू सहित १५ जना जनप्रतिनिधि सहभागी भएका थिए ।

कार्यकक्षमा तालाबन्दी गरिएपछि पत्रकारहरूले राखेको जिज्ञासामा नगर प्रमुख खरेलले नगरपालिकामा सुशासन कायम गर्न आफुले प्रयत्न गरिरहेको बताए ।

राजनीतिक प्रतिशोध साधेर नगरपालिकामा अराजक गतिविधी गरिनु गलत रहेको उल्लेख गर्दै प्रमुख खरेलले सहमति र सहकार्यबाटै अघि बढ्नु पर्नेमा आफु सधै प्रतिबद्ध रहेको बताए ।

यी हुन् ७ वडाध्यक्षले लगाएका आरोप

नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भुक्तानी समेत भएको ।
नगर प्रमुख कोषदेखि आफ्नो कुल मन्दिरमा रकम विनियोजन गरी वडा नं. ९ को कार्यालयको सिफारिस बिना रकम निकासा समेत गरीएको ।

वडा नं ८ मा मिति २०८०/०८/२० गते नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रेक्टर, जे.सि.भि पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत मिलेमतोमा बिना राजश्व छोडिएको ।
देवदह तगरपालिकामा गरिने आन्तरीक सामाग्री खरीद प्रक्रिया सार्वजनिक खरीद प्रक्रियामा नगई मानोमानी ढंगले खरीद गर्दै आएको ।

नगरपालिकाबाट गरिएका शिक्षक तथा कर्मचारी नियुक्ति सम्बन्धित परिक्षाहरु पारदर्शी ढंगले नगरीएको ।
अघिल्लो नगर सरकारदेखि लागु गरिएको देवदह नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको योगदानमा आधारीत सुरक्षा कोषमा आवद्ध गराउने कुरालई पटक पटक कार्यपालिकाबाट लागु गर्ने निर्णय पनि प्रमुख प्रशासकिय अधिकृतले लागु नगरेको ।
नगरस्तरिय खेलकुद समिति गठन प्रक्रियामा कार्यपालिकाभित्र असहमति हुँदाहुँदै जबरजस्ति र मनोमानी ढंगले बहुमतको दम्भ देखाँउदै निर्णय गरिएको ।

उपभोक्ता समितिलाई कार्य सम्पादनपछि पनि पटक पटक नगरपालिका धाउन पर्ने गरी सास्ती दिईएको ।
हाम्रो असहमति हुँदाहुँदै पनि प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर लैजानु पर्ने ठाँउमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको बिचमा द्वन्द सिर्जना गराई कोरम नपुग्दा नपुग्दै घर घरमा गएर हस्ताक्षर गराएर नगर सभा सञ्चालन गरीएको ।

कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शिर्षकमा रकम बाडेको ।