कपिलवस्तु,१४ फागुन ।
२४ किलो बढी चरेससहित प्रहरीले कृष्णनगरबाट ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध बरामद गर्नुका साथै ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीन महिला र दुई पुरुष रहेका छन् ।

खनियाबास गाउँपालिका–५ धादिङका ५९ वर्षीया सेती तामाङका साथबाट ५ किलो ५५५ ग्राम र सोही स्थानका ६६ वर्षीय रेगदोन तामाङका साथबाट ५ किलो ३६५ ग्राम र सोही ठाउँका ५२ वर्षे साङजोङ तामाङनीका साथबाट ५ किलो ४८० ग्राम चरेस बरामद भएको हो । त्यस्तै सिद्ध कुमाख गाउँपालिका–४, सल्यानका ४० वर्षीय थलबहादुर रोकाका साथबाट ४ किलो ६१५ ग्राम र भुमे गाउँपालिका–२, रुकुम पूर्वका ३७ वर्षीय भावना बुढाको साथबाट ३ किलो ५४५ ग्राम लागूऔषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वबाट कृष्णनगर हुँदै भारततर्फ लैजाँदै गरेको गोप्य सूचनाको आधारमा शंका लागि चेकजाँच गर्ने क्रममा प्रहरीले लेप्रहरीले कृष्णनगरबाट कृष्णनगर बजारक्षेत्रबाट उनीहरूलाई आइतबार साँझ पक्राउ गरेको हो ।