बुटवल,१३ फागुन ।
बुटवल उपमहानगरपालिकाले बजार अनुगमनसँगै उपभोक्तालाई सचेतना फैलाउन थालेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलको समन्वयनमा उपमहानगरपालिकाले १९ वटै वडाका सरोकारवाला निकायहरुसँग खाद्य शुद्धता सम्बन्धी अभिमूखिकरण तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपभोक्ताको हित संरक्षणका लागि उपभोक्तानै सचेत हुनु पर्ने भएकाले बुटवलले सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको बताए ।
उपमहानगरपालिकाले बजार अनुगमनसँगै उपभोक्ताहरुलाई सचेत बनाउन छलफल,गोष्ठी अन्तरक्रिया सञ्चालन गरिरहेकाे उनले जानकारी गराए ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बजार अनुगमन गर्दा समेत सुधार उन्मुख नहुँदा उपभाक्तालाईनै सचेत गराउन बुटवलका १९ वटै वडामा पुगेर सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताए ।
बुटवलका उपभोक्ता अहिले सचेत बन्दै गएको र अब कालोबजारी तथा अखाद्य बस्तु विक्रि वितरण गर्नेहरूकाे दिन सकिएको बताए ।
अनुगमनका क्रममा बालकदेखि ज्येष्ठ नागरिकसम्मले उपभोग गर्ने दूध,घिउ ,चामल,मासुमा समेत अखाद्य बस्तु मिसावट गरि विक्रि वितरण गरेको भेटिएपछि उपभोक्ता नै सचेत हुनुपर्ने कार्यक्रमका संयोजक राजुप्रसाद लिगलले बताए ।
बजार अनुगमनमा गुणस्तरहीन ुअखाद्य बस्तु विक्रि वितरण गरेको भेटिएपनि सम्बन्धित निकायले कारबाहीमा लचकता अपनाएको उनलेे बताए ।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को पौष मासन्तसम्म ३२ वटा खाद्य पसल,११ वटा चमेना गृह , ८ वटा मिष्ठान भण्डार, २५ होटल, ८ दूध डेरीमा अनुगमन गरेको अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए । उपमहानगरपालिकाले कार्यविधि बनाएर बजार अनुगमनलाई निरन्तरता दिईरहेको उनले बताए ।
कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवय,उपभोक्ता हित संरक्षण मंच बुटवलका अध्यक्ष समुन्द्र जिसी,बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख ठगिश्वर पाेखरेल,मानवअधिकारकर्मी रिमा बिसी ले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेको उपभोक्ता हित संरक्षण मंच बुटवलका बरिस्ठ उपाध्यक्ष भक्त बहादुर कार्कीले जानकारी दिए ।