Share this News on Social Networking Pages

रोल्पा,१२ फागुन ।
श्रीमतीको हत्या गरेको अभियोगमा राेल्पाकाे माडी गाउँपालिका-१ जयलखसे गाउँका ३२ वर्षीय भीमबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे बुढाले घरको आँगनमा २८ वर्षीया श्रीमती मनकुमारीलाई घाँटीमा चक्कु जस्तो देखिने हतियारले प्रहार गरेका थिए ।

घाइते मनकुमारीको रगत बगेर शुक्रबार नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पछि घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा पुगेको टोलीले भीम बहादुरलाई तत्काल पक्राउ गरेको छ ।

बुढाको घरमा १२ वर्षका छोरा र ५ वर्षकि छोरी छन् । बुढा दम्पती बीचमा घरायसी विवाद हुँदा उक्त घटना भएको गाउँलेले बताएका छन् ।

भीमबहादुरलाई मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारेर
प्रहरीले नियन्त्रणमा लिएको थियो । सुरुमा घटनामा प्रयोग गरिएको धारिलो हतियार बरामद गरिए पनि उनको घर खानतलासी गर्दा घरेलु हतियार (भरुवा बन्दुक) फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।