बुटवल,१२ फागुन ।
भ्रष्टाचारमा मुछिएका राप्रपाका लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाले उनी स्वत: निलम्बनमा परेकाे लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयले सुचना निकालेर निलम्बनबारे जानकारी गराएको हो ।
कपिलवस्तु-३ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादवविरुद्ध गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो ।
यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद यादवसहित समितिका तत्कालीन पदाधिकारी,डिभिजन बन कार्यालयका अधिकृत र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरूसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग उनीहरूमाथि छ । ८०३ वटा रुखहरू काट्दा त्यसबाट निस्किएको ३५ हजार ७ सय ७८ दशमलव १० क्यूफिट काठ र ४९.२३ क्विन्टल चट्टा दाउरा सङ्कलन गर्नुपर्नेमा नापजाँच मूल्याङ्कन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन सङ्कलन भएको देखाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ । लुम्बिनी प्रदेशका सांसद यादवको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी गरिएको छ ।