बुटवल,१२ फागुन ।
मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत
र माछा मासुको क्षेत्रमा प्रदेशको २४ प्रतिशत योगदान रहेको जनाइएको छ ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको अवसरमा लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले पशुपन्छी सञ्जालसंग गरेको गोष्ठिमा निर्देशनालयका जिमित्त निर्देशक डा. प्रवेशसिंह कुँवरले उक्त कुरा बताएका हुन् ।
मत्स्य तथा पशुपालनको क्षेत्रमा यो भन्दा अझै धेरै योगदान गर्न सकिने सम्भावना रहेको उनलेे बताए ।
उनका अनुसार प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही र बाँकेमा दुध र मासु दुबैको उत्पादन बढी छ । दुधको आयातले यहाँका किसानलाई केही समस्या भएको पनि उनले बताए । उनले दुध तथा माछा मासुको उत्पादन बढाउनको लागि निर्देशनालय प्राथमिकता दिएर काम गरेको दाबी गरे ।
गोष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेशमा किसान संख्याको तुलनामा प्राविधिक जनशक्ति कम रहेको उनको भनाइ थियो ।
उनका अनुसार प्रदेशमा किसानको संख्या ५ लाख ८८ हजार ६५९ छ । त्यस्तै प्रदेशमा प्राविधिक जनशक्ति १ हजार ३२ जना मात्रै छन् । यसले एकजना प्राविधिक जनशक्तिले ५७० किसानलाई हेर्नुपर्ने वाध्यता रहेको बताउँदै आवश्यकता अनुसारको जनशक्ति सिर्जना गर्न र त्यसरी सिर्जना गरिएको दरवन्दीमा जनशक्ति पदपूर्ति गर्नुपर्नेमा जाेड दिए । त्यतिहुँदा हुँदै पनि चालु आर्थिक वर्षको ६ महिनामा किसानको घरघर पुगेर ३२ हजार पशुमा कृतिम गर्भाधान गराएको उनले जानकारी गराए ।
प्रदेशमा दुधको उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ । साउन भदौसम्म गाईभैसीमा लम्पीस्किनको समस्याले गर्दा दुधको उत्पादन घटेको हो । तर अब लम्पीस्किनको समस्या सामान्य हुँदै गएको छ । त्यस्तै पशुचौपायामा देखिएको सबैभन्दा ठूलो समस्या खोरेत हो । त्यसको लागि पनि अब तत्कालै खोप लगाउने तयारी भएको उनले जानकारी गराए ।
त्यस्तै लुम्बिनीमा माछाको उत्पादन पनि राम्रो छ । नेपालमा २५२ प्रजातीका माछामध्ये लुम्बिनी प्रदेशमा अधिकांश माछा उत्पादन हुन्छ । मानिसको स्वास्थ्यको दृष्टिकोणले पनि माछा महत्वपूर्ण खाद्य बस्तु हो । माछाको उत्पादनसंगै त्यसको प्रशोधन र बजारीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।
किसानलाई विमाको क्षेत्रमा पनि समस्या छ । कृषिलाई प्रवद्र्धन, लगानी आकर्षण र कृषिजन्य बस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्नको लागि कृषिमा विमाको अवधारणा ल्याईएको हो । तर यसबाट किसानलो लाभ भने लिन सकिरहेका छैनन् । अर्का कार्यपत्र प्रस्तोता नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्णबहादुर थापाले सरकारले दिनुपर्ने अनुदानको पैसा नदिदा भुक्तानीमा समस्या भएको बताए ।
कृषि बाली, जीवजन्तु र जडिबुटीमा विमा पोलिसी जारी गरी नेपालमा ४४ अर्व ५१ करोड ६९ लाख रुपैंया बराबरको सम्पत्तिको विमा भएको जानकारी गराए । जसबाट २ अर्ब १६ करोड ३७ लाख रुपैंयाको विमालेख भएको उनले बताए ।
कृषि प्रणाली विग्रियो भने सबै प्रणाली विग्रिने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख परवेज आलमले बताए । उनले पशुबाट मानिसमा सर्ने रोग बढ्दै गएको बताए । उनका अनुसार मानिसमा हुने सुरुवा रोग मध्ये ७५ प्रतिशत पशुबाट सर्ने गरेको छ । नयाँ नयाँ जंगली जनावरको संसर्गमा बस्ने, मासुको असुरक्षित प्रशोधन तथा उपभोग, जनावरको टोकाई जस्ता कारणले पशुबाट मानिसमा रोग सर्ने गर्दछ । मासु प्रोटिनको लागि राम्रो स्रोत हो । तर त्यसको असुरक्षित उपभोगले मानिसमा धेरै रोगको जोखिम बढाई रहेको छ ।
उनले भने –‘रेविज लागेपछि मानिसको मृत्यु नै हुन्छ । त्यसकारण कुकुर, बाँदर, न्याउरीमुसा, स्याल, ब्वासो जस्ता जनावरले टोकेपछि अनिवार्य रेविज विरुद्धको खोप लगाउनु पर्छ ।’ त्यस्तै लामखुट्टेको टोकाईबाट डेंगु, जापनिज इन्सेफ्लाईटिस जस्ता रोग हुन सक्छ । त्यस्तैगरी कुखुराबाट वर्डफ्लु सर्न सक्छ । बंगुरको शरीरमा हुने टेपवर्म राम्रोसंग नपकाई खाँदा त्यो मानिसको शरीरमा प्रवेश गर्न सकछ । उहाँका अनुसार एचआईभि एड्स पनि पशु (चिम्पान्जी)बाट नै मानिसमा आएको हो । पछिल्लो समय पशुबाट मानिसमा सरेको रोगले फोक्सोमा हानेको उनले बताए । वर्डफ्लु, स्वाईन फ्लु, कोरोना यसको दाहरण हुन् । यस कारण यी सबै कुरामा सचेत भएर मासुको प्रयोग र ती जनावरको संसर्गबाट टाढै बस्न उनलेे सुझाव दिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पशुपालक तथा कृषि कर्म गर्ने किसान सबै क्षेत्रबाट मारमा परेको बताए । उनका अनुसार किसानले गरेको उत्पादन बेचविखनको लागि राम्रो बजार छैन, बेचविखन गरेको बस्तुको उद्योगले भुक्तानी दिँदैन, विमा कम्पनीले क्षेतीको दावी भुक्तानी गर्दैन । यस्तो देशमा कहाँबाट कृषिको प्रवद्र्धन हुनसक्छ ? उनले प्रश्न गरे । किसानलाई उत्साहित भएर काम गर्ने वातावरण नबनाउँदा सम्म कृषि क्षेत्रको विकास हुन पनि सक्दैन भने आयात अझै बढेर जानेछ । उनले भने–‘आयात प्रतिस्थापन र निर्यातको कुरा टाढा छ ।’
कृषि मेलाको अवसरमा शुक्रबार मेलास्थलमा प्राङ्गारिक खेती हालसम्मको प्रयास, उपलब्धी र अवको बाटो तथा जीवनासक विषादी प्रयोग प्रभाव र विकल्प विषयमा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम गरिएको संघका कार्यसमिति सदस्य तथा तालिम गोष्ठि समितिका संयोजक निर्मित कसजूले जानकारी दिए । उनका अनुसार त्यस्तैगरी भोली कृषि बस्तुको बजारीकरणको विषयमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।
यहि फागुनको १० गतेदेखि शुरु भएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला १४ गतेसम्म सञ्चालन गरिने छ । मेलामा माटो परीक्षण तथा बाली परीक्षण शिविर पनि सञ्चालन गरिएको छ । त्यस्तै शनिबार नै कृषिमा आधारित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।