बुटवल,११ फागुन ।
यश क्षेत्रकै अब्बल बैंककाे रूपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ ।
पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि बैंकले आफ्नो कारोबार सुरु गरेको थियो ।
सुरुवाती चरणमा ३ जिल्लाबाट सेवा सुरु गरेकाे बैंकले वि.सं. २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैंकको नामबाट १० जिल्लामा आफ्नो सेवा विस्तार गरेको थियो ।
त्यसपछि वि.सं. २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको हो ।
हाल रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको बैंकले शहरी र ग्रामिण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
हालसम्म ५ वटा विकास बैंकलाई मिलेर बनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक स्थापना कालमा ६ करोड पुँजीबाट कारोबार गरेको थियो ।
शुक्रबार रूपन्देहीको मणिग्राममा आयोजित बार्षिकाेत्सव कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष थानेश्वर पाैडेलले बैंकिङ क्षेत्रमा कलम चलाउदा सचेततापुर्वक कलम चलाउनुपर्नेमा जाेड दिए ।
बैंकिङ क्षेत्र देशको आर्थिक मेरूदण्ड भएको भन्दै उनलेे बैंकिङ क्षेत्र असफल हुँदा देशकै अर्थतन्त्रमा पनि असर पर्ने भएकोले
बैंकिङ क्षेत्रमा कलम चलाउदा सचेततापुर्वक कलम चलाउन जरुरी रहेको बताए ।
६ करोडबाट काराेबार शुरु गरेको बैंकको पुँजी ६ अर्ब पुगेकाे उनलेे जानकारी गराए ।
उपत्यका बाहिर पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरण शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमाणित गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बताए ।
‘मोफसलमा रहेर पनि राम्रो पर्फमेन्स गरेर राष्ट्रिय स्तरका बैंकलाई टक्कर दिइरहेको छ, उपत्यका बाहिर पनि यो लेभलको संस्था चलाउन सकिन्छ भन्ने उदाहरण ज्वलन्त छ, उपत्यका बाहिर पनि यो लेभलको बजार छ ? बैंक सञ्चालन गर्न सकिन्छ ? भन्ने सोच अधिकांशको छ, यसको बावजुत पनि केन्द्रिय कार्यालय मोफसल बाहिर रहेर काम गर्न सक्छ भन्ने प्रमाणित गरेका छौं,’ उनले भने ।
बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।
बैंकले सामाजिक सेवाका क्षेत्रमा पनि आफूलाई अग्रणी रुपाम उभ्याएको छ । वातावरण संरक्षणका लागि चौधौ बार्षिकोत्सवमा १४ हजार र पन्ध्रौं वर्षमा एक हजार गरी १५ हजार बिरुवा रोपेको बैंकले जनाएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीमा आर्थिक पत्रकारिता पुरस्कारका लागि ५ लाख रुपैंयाको अक्षयकोष स्थापना गरेको छ । यसको ब्याज बाट हरेक वर्ष ५० हजार राशीको पत्रकारिता पुरस्कार वितरण भइरहेको छ।
बैंकले डिजिटल बैंकिङ वित्तीय साक्षरतालाई पनि उच्च प्राथमिकतामा राखेर अभियान चलाएको छ । यस्तै उद्यमशीलता विकासका लागि युवा विद्यार्थी लक्षित कार्यक्रम पनि गर्दै आएको बैंकले जनाएको छ ।
पत्रकार गौतम र कार्की पुरस्कृत
बैंकद्वारा स्थापित नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा प्रदान गरिदै आएको शाईन रेसुङ्गा आर्थिक पत्रकारिता पुरस्कार २०८० पत्रकारद्वय घनश्याम गौतम र भूवन कार्की पुरस्कृत भएका छन ।
उनीहरुलाइ जनही २५/२५ हजार १ नगद सहित सम्मानित गरिएको हो । उनीहरूलाई बैंकका अध्यक्ष एवं सञ्चालकहरुले सम्मान गरेका हुन ।
यस्तै ग्रामीण क्षेत्रबाट खनदह शाखा उत्कृष्ट शाखा र सहरी क्षेत्रबाट काठमाडौको नयाँ बानेश्वर शाखा सम्मानित भए ।