पाल्पा,७ फागुन ।
पाल्पाको हात्तीलुङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाकाे रहवास–खैरेनी सडकखण्डमा पर्ने हात्तीलुङमा भएको दुर्घटनामा टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

चुनढुंगा खानीमा चल्ने अधिकांश टिपरले अधिक भारवहन बोक्ने, तीव्र गतिमा गुडाउने र लापरबाही ढंगले लाइसेन्स नै नभएका चालकले चलाउने भएकाले माथागढी गाउँपालिका–५, हात्तीलुङ्ग नजिकै गिद्धे भीर क्षेत्रमा पटक–पटक दुर्घटना हुने गरेको स्थानीयकाे भनाइ छ ।

माथागढी गाउँपालिका–६, गोठादीमा माथा प्रहरी चौकी रहेपनि टिपर चालकसँगको मिलेमतोमा त्यस भेगमा लापरबाही ढंगले टिप्पर चल्ने गरेको स्थानीयको आरोप छ ।

दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।