काठमाडौं,२८ माघ ।
सन् २०२२ को फ्रेबुअरी २४ देखि जारी रहेको रुस–युक्रेनबीचको द्वन्द्वमा १२ नेपालीको मृत्यु भएको र ५ जना युक्रेनी सेनाको कब्जामा रहेका आधिकारिक तथ्यांक सार्वजनिक भए तापनि पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका अभियन्ताहरूले भने २२ जनाले ज्यान गुमाइसकेको दाबी गरेका छन् ।

रुस–युक्रेन युद्धमा संलग्न भएका नेपालीका साथै घाइते र बेपत्ताहरूको उद्धार तथा खोजीका साथै मृतकको लास फर्काउने विषयमा सरकारले गम्भीरताका साथ पहल गरिरहेको दाबी गरिरहेकै समयमा अभियन्ताहरूले भने उद्धारमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच कन्सुलर सेवा विभागमा रुस–युक्रेन युद्धमा फसेका करिब एक सय ४० नेपालीका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।

मन्त्रालयका अनुसार हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान र कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको हो ।

यसै गरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा मृतकका परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन् ।

रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन र थप एक नेपालीलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयले जनाएको छ ।

यद्यपि, पीडित परिवारका आफन्त र घटनालाई नजिकबाट नियालेका अधिकारकर्मीहरूले भने मृतक र पीडितको संख्या सरकारी तथ्यांकभन्दा दोब्बर बढी भएको दाबी गरेका छन् ।

युद्धमा मारिएका २२ जना नेपालीको मृत्युसंस्कार समेत भइसकेको उनिहरूकाे दाबी छ । अभियन्ता कृतु भण्डारीले केही दिनमै मृत्युसंस्कार भइसकेका मृतकका परिवारहरूलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरी उनीहरूको पीडा सुनाउने तयारी भइरहेको जानकारी दिए ।

उहाँका अनुसार उक्त अभियानमा पीडित परिवार र रसियामा रहेका युवाहरूसमेत गरी एक हजारको हाराहारीमा जोडिएका छन् ।

अभियन्ताहरूले युद्धमा फसेका नेपालीहरूको उद्धारका लागि यथासम्भव छिटो पहल गर्न संयुक्त राष्ट्रसंघ, रुसी राजदूतावास, सरकार र दलहरूलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

रुसी सेनामा भर्ना हुन जाने अधिकांश भ्रमण भिसामार्फत् खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ । मन्त्रालयका प्रवक्ता राईका अनुसार सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिसकेको छ ।

साथै बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फर्काउनका लागि पनि युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिसकिएको उनले बताए ।

रुस–युक्रेन युद्धमा नेपालीको मृत्यु भएको समाचार सार्वजनिक हुनासाथ परराष्ट्र मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र यदि भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुस सरकारलाई अनुरोध गरेको थियो ।

गत महिना युगान्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनको क्रममा पनि रुसका सहायक विदेश मन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रुसी सेनामा नेपाली भर्ना रोक्न र भर्ना भइसकेकालाई स्वदेश फर्काउन आग्रह गरेको थियो।

मन्त्रालयले गत साउन १६ गते पहिलोपटक प्रेस विज्ञप्तिमार्फत् परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो ।

मन्त्रालयले सरकारी कामकाज, रुस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्सन लेटर’ लिएर मात्र यात्रा गर्न पनि अपिल गरेको छ ।