बुटवल,१८ कार्तिक ।
सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका पुर्व उपमहासचिब घनश्याम भुसालले एमालेको नेतृत्व गलत भएको तर नेता कार्यकर्ता इमान्दार भएको बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिदै उनले देशको संवैधानिक फूलहरुको बगैँचामाथि बनमारा झारले आक्रमण गरेको टिप्पणी गरे ।
भुसालले भने, ‘ओली साँच्चिकै बनमारा झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइ छाडे । बनमाराले आफ्नो अस्तित्व समेत संकटमा पार्ने गरी बगैचा उजाड बनाउने कोसिस गर्यो ।’ शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसँग कुरा गर्दै भुसालले नेकपा एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमानदार रहे पनि नेतृत्व भने गलत तर्क गरे । ओलीले एमालेको पार्टी प्रणाली मात्रै नभएर लोकतन्त्र र देशको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेर बनमारा झारको चरित्र देखाएको भुसालको भनाइ छ ।
कमल थापाहरु सूर्य चिन्हबाट चुनाव लडेको तर्फ संकेत गर्दै भुसालले भने– ‘पञ्चहरूले एमालेको चिन्ह लिएर लड्ने तर पार्टीमा बर्षौँसम्म काम गरेका नेताहरूले टिकटका लागि माफी माग्नुपर्ने ? यस्तो पनि हुन्छ ?’ आफूले साढे ४ दशक पसिना बगाएको पार्टीबाट विद्रोह गरेको उल्लेख गर्दै उनले इमान्दार एमाले कार्यकर्ताहरूले आफूलाई साथ दिने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं. १ (ख) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनबाट नै विकास र समृद्धि सम्भव भएको दावी गरे ।
संविधानसभा सदस्य निर्वाचित भएको बेला आफूले गरेका कामको चर्चा गर्दै उनले अबको आवश्यकता संविधानको रक्षा र पूर्वाधार एवं सामाजिक विकास भएको बताए ।
त्यसैगरी रुपन्देही १ (क) का उम्मेदवार विश्वनाथ यादवले आफूहरू धेरै नबोल्ने तर बोलेजती काम गरेर देखाउने बताउँदै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे । क्षेत्रका ३३ वटै वडामा संयुक्त कार्यालय उद्घाटन गरिसकेको गठबन्धनले आइतबारबाट औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरू हुने निर्वाचन परिचालन कमिटीका संयोजक हिराबहादुर खत्रीले जानकारी दिए ।








