Share this News on Social Networking Pages

कोरोना जोखिमका आधारमा विद्यालय बन्द गर्ने वा खोल्ने अधिकार पालिकालाई
काठमाण्डौ,३ बैशाख ।
संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुरु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रवार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरूले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो ।

समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरूको सुझावलाई ध्यानमा राखेर अत्यधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाको जीवनरक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाइ बन्द गरी अनलाईन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

यसअघि छलफलमा सहभागी समिति सदस्यहरूले भौतिक उपस्थितिमा विद्यालयमा हुने पठनपाठनलगायत क्रियाकलापका कारण ठूलो संख्यामा बालबालिकाहरू कोभिड–१९ को उच्च जोखिममा रहेको भन्दै तत्काल विद्यालय बन्द गर्न सरकारलाई सुझाव दिनुपर्ने धारणा राखेका थिए । समिति सदस्य रमेशजङ्ग रायमाझीले प्याब्सन एनप्याब्सनको आर्थिक चलखेलमा शिक्षा मन्त्रालय लागेको र निर्बाध विद्यालय सञ्चालन गर्न दिएको आरोप लगाए । उनले ललितपुरमा रहेको एक स्कुलले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि हुँदा पनि विद्यालय सञ्चालन गरेर थप जोखिम बढाएको भन्दै त्यस्ता स्कुलको अनुगमन गरी कारबाही गर्नुपर्ने धारणा राखे ।

समितिका अर्का सदस्य दिनानाथ शर्माले भारतमा कोभिड–१९ संक्रमणको अवस्था भयावह स्थितिमा रहेको र खुला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वास्थ्य सतर्कताका मापदण्डलाई कडाइका साथ पालना गर्न–गराउनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकले आउँदो बजेटलाई दिगो विकास लक्ष्य मैत्री बजेट बनाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी दिगो विकास मैत्री बजेट भयो–भएन भन्ने सन्दर्भमा जानकारी लिन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ । समितिको बैठकले बजार अनुगमनका लागि व्यवस्था मिलाउन सचिवालयलाई निर्देशन दिएको छ ।

यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
शुक्रवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकपछि मन्त्रालयले विज्ञप्ति निकालेर विद्यालयहरूमा सावधानी अपनाउन आग्रह गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएर विद्यालय बन्द गर्न विज्ञहरूले सुझाव दिइरहेका बेला शिक्षा मन्त्रालयले भने विद्यालय बन्द नगर्ने आशयको विज्ञप्ति जारी गरेको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर, आलोपालो वा सिफ्टमा भए पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने अवस्था आए पालिका र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गर्न आग्रह गरेको छ । विद्यालयमा मास्क, स्यानिटाइजर, साबुन पानीलगायत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

बैठकपछि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बिहीवार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेशअनुसार भौतिक रूपमा अथवा वैकल्पिक रूपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उनले बताए ।

मन्त्रालयले शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिकोत्सवजस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ ।
विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा–२०७७’ अनुरूपको सिकाइका विभिन्न विधि अवलम्बन गर्न मन्त्रालयको आग्रह छ । प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिनसमेत मन्त्रालयले आग्रह गरेको छ ।