राकेश कार्की
भोकहरूले कहाँ सपना देख्छन् र
दुखाइहरूसँग कहाँ सपना हुन्छ र
सपना त तिनैले देख्छन्
जो आनन्दले सुत्न पाउँछन्
ठूला-ठूला महलहरूमा
विलासिताका क्वाटरहरूमा
सुविधासम्पन्न रिसोर्टहरूमा
शक्तिशाली व्यक्तिहरुको
नरम मुलायम ओछ्यानहरुमा
केवल देख्दैनन् सपना उनीहरू
बाँडी पनि दिन्छन्
राजनीतिले चुनावको बेला
व्यापारले विज्ञापनमा लोभ्याएर
इन्सुरेन्स कम्पनीले डर देखाएर
कमिशन खानेहरूले भ्रम छरेर
शिक्षाको चर्को फिसले
उज्वल भविष्य देखाएर
चिठ्ठाले करोडपतिको आश देखाएर
उद्योगहरूले शेयरको उचाइ औँलाएर
चन्दा असुल्नेले सेवा दानको आनन्द दिलाएर
कति हुन् कति हुन्
थुप्रै-थुप्रै यस्तै यस्तै सपनाहरू
ती सबै सपना त हुन्
टुलु टुलु आँखाहरुले हेर्ने
बिपनाको उल्टो
पसिना चुहाई चुहाई खोज्नुपर्ने
पैताला फुटाई फुटाई धाउनुपर्ने
जति सोच्यो त्यति लम्बिरहने
जति हेर्यो त्यति टाढिरहने
जति सुन्यो त्यति धैर्य गर्नुपर्ने
सुख-सयलसँग रमाउने त्यो सपना
आँखाको निम्ति भएपनि
रमाउने, कमाउने, जमाउने,
तालुमा आलु फलाउने,
बोलीले हावामा माथि माथि उडाउने
आदि इत्यादि टाठाबाठा
यस्ता उस्ता त्यस्ता
जो चाहिँ सपना देख्ने
अनि सपना बाँड्ने हुन्
उनीहरुकै आँखाले मात्र देखिरहने
भोका, दु:खी, बेसहारा,
अन्यायमा पर्ने, बोल्न नसक्ने
आफै रूदै आफै आँसु पुछ्नेले त
कहाँ देख्न पाउनु सपना!
त्यो
मनको लड्डु घिउसित खाऊ भनि
बाँडेका असंख्य सपना
जब झल्-झल् आँखाको वरिपरि
सपना जस्तो पारेर छरिदिन्छन्
तब
आँखाहरू नै चम्किने
दुवै हात फैलिने
यतै समाउन खोज्ने
उतै समाउन खोज्ने
तर
जुन जुनलाई छोयो
त्यही त्यही सपना
फगत साबुन-पानीका फोका जस्तो
समाउनु अघि नै पट्ट पट्ट फुट्ने।
साहित्यपाटीबाट