काठमाण्डौ,१० चैत ।
आज विश्व मौसम दिवस नेपाल सहित विश्वभर बिबिध कार्यक्रम गरी मनाइँदै छ ।
सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको यो दिवसको यस बर्ष ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे जानकारी गराउन कार्यक्रम हुँदैछन् ।
जल तथा मौसम विज्ञान विभागले समुद्र, जलवायु र मौसमको अन्तरसम्बन्धबारे कार्यक्रममा जानकारी प्रस्तुत गर्ने जनाएको छ ।
जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर पर्न थालेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले जानकारी दिइन् । पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको उनले बताइन् ।
विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । यसैबीच, अहिले प्रि–मनसुनको समय भएकाले यो सिजनमा हुन सक्ने प्राकृतिक विपदबाट जोगिन व्यक्ति आफैँ सचेत हुन बिभागको सुझाव छ ।
प्रि–मनसुनमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहितको वर्षा हुने गर्दछ । चट्याङ्ग लागेर ज्यान जाने खतरा भएकाले चट्याङ पर्ने दिउँसोपछिको समयमा सकेसम्म खेतबारीमा काम नगर्न मौसमविदको आग्रह छ ।
आज पनि पहाडी केही क्षेत्रमा दिउँसोपछि चट्याङ्ग पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।