डा. गोविन्दराज भट्टराई
चैत्र २०७६ (मार्च २८, २०२०)
आज पाँच बजे मात्र उठ्न सकेँ । उनै चरा कराएका छन् । आकाश अप्रदूषित छ, जहाज उड्न छाडे, काठमाडौँको धर्ती पनि निर्मल छ जस्तो लाग्छ । अति प्रदूषणले भागेका चरा काठमाडौँको आकाशमा फर्किए भन्छन् भन्नेहरु तर आज पनि कुनै वासन्ती स्वर गुन्जिएन ।
माथि चढेँ, पानी उमालेँ, रामदेव चिया बनाएर काम–टेबलमा बसेँ । आज त्यही बाँकी थियो— नेत्र शर्माको पीएचडी थिसिसको प्रतिवेदन । लेख्ता लेख्ता नौ बजेभित्र छ पृष्ठ प्रतिवेदन, अरु धेरै टिप्पणी छैन यही प्रस्तुत गर्नेछु ।
आज मन अलिक अर्कै भएको छ । हिजोदेखि भाइको कान्तिपुर पनि बन्द भयो । आजदेखि घरमा कुनै पत्रिका आउने छैन कति दिनलाई हो कसले भन्न सक्छ । अबदेखि खोलेर अन्लाइन हेर्ने मात्र ।
आजका पोष्टिङहरु एकातिर आफैँ त्रासद भयावह हुँदैछन् अर्कातिर कोरोना एक ख्याल ठट्टाको ‘हँस्सी मजाकको’ जस्तो पनि विषय बन्दैछ त्यहाँ । आज पनि अंग्रेजी हिन्दी नेपालीका पोष्ट हेरेँ । नहेरौँ भन्यो केही नयाँ पो छ कि जस्तो पनि लाग्दछ । खोल्यो कोरोना स्थितिलाई अनेक दृष्टिले हेरिएको पाइन्छ । नयाँ कुरा छैन भएकैमा भयावहता थपिन्छ ।
बिहानै चितवनका गोपी भाइको पोष्टिङ आयो । एकछिनमा एउटा फोन पनि । अनि हेर्न कर लाग्यो एउटा नारी शीर्षक कविता रहेछ । यो कविता कतिले लाइक गरेको सुनाए, यसका सन्दर्भ र फलाना फलाना नारी स्रष्टाको कुरा सुनाए । साढे १५ मिनेट खर्च गरेँ र यो कविता सुनेँः
गजल नारी सम्मेलन
भेला भए देवी त्रयी सीताजीको घरमा
चाम्रे मिठो पकाउने बहु बिन्दु शर्मा
ज्वाला गुड्डी नारायण हरिभक्त प्यारी
बैनी राधा पुलकित आज यो नरमा
नारी नारी भए एक म छु बडी गार्ड
रमाइलो भयो आज सम्झेँ बाबा आमा
गायत्री जी मितिनीजी माता मौनताकी
चलेको छ सुमन नाउ जननीको भरमा
आफन्तको हार्दिकता आत्मीयता अमृत
हाम्रो मायाँ पुगेको छ उच्च त्यो शिखरमा ।।
त्यसपछि मदन कार्कीका कविता माथिको विचार फाइनल गर्ने उद्देश्यमा थिएँ । बेलायतदेखि एउटा पोष्ट आयो— ल है म एक्स वृटिश आर्मी सिक्स जीआरको हो । म एक अनरेरी क्याप्टेन जीसीको सुरजंग गुरुङ हो । म ऐले इष्ट लण्डनमा सुपरभाइजरको काम गरेर बसेको छु… भन्दै आफ्ना वरिपरि कुनै पसल नभएको, भएको पसलमा चकलेट मात्र भएको, आफू सुगरको रोगी उतै पैसा यतै पैसा छ तर किन्न नपाएर प्राण जाने स्थितिको विवरण लेखी पोष्ट गरे छन् । मैले पनि भाइ केदार सङ्केतलाई पठाएँ । उनी यता अफगानिस्तानमा भएपनि उनका परिवार बेलायतमै छन् । ती नेपालीको स्थिति बुझ्लान् भन्ने लाग्यो । किनभने साँच्चैको सङ्कट रहेछ भने ता उताकाले बचाउलान् भन्ने भयो । त्यसो त मैले विश्वास भाइलाई पनि कल गर्न खोजेँ, उठेन ।
केदार भाइले तुरुन्तै उत्तर गरे— ढाँट्या गुरु । बेलायत सरकारको डिउटिमा छ उहीँ बसेर त्यस्तो लेख्ता के भन्ला सरकारले थाहा पायो भने केही न केही व्यवस्था गरेकै हुन्छ फेरि यस कुराले हामी सारा गोर्खालीकै बिजेत ग¥यो गुरु यो मान्छेलाई पक्रिन्छ होला यस्ता अफबाह फैलायो ।
मलाई हिजो नै स्कटल्याण्डबाट दीपक भतिजले गरे— राम्रै छौँ काका यहाँ । अस्तिको दिन वेल्सदेखि रक्ष भाइको आएको थियो— राम्रो छ दाजु काम गर्दैछौँ । आज दुईदिन पछि पूर्वी लण्डनमा त्यस्तो नहुनु पर्ने ।
केदारले चिन्ता गर्दै आफ्नो आगामी पुस्तकको अलिकति जानकारी दिए—
गुरु नमस्कार,
आज गुरुसँग कुरा गरेको आख्यानको साइतमा बोलिएछ, म ता चिन्दिनँ, यस्तो खबर आयो—
“केदार सर
परिचयात्मक नमसकार । साङग्रिलामा प्रकाशोन्मुख यहाँको आख्यानको भाषासम्पादनको जिम्मा मेरा हातमा आइपुगेको छ । यहाँले प्रस्ताव गर्नुभएकाले पुस्तकका नाममध्ये अफगानी रणमैदान राम्रो होला कि भन्ने प्रारम्भिक अनुमान गरेको छु । प्रा.डा. गोविन्दराज भट्टराई दाजुको भूमिका हेरिसकेँ । केही जिज्ञासा रहनेछन् मेले भाषासम्पादन गर्दा । तिनलाई मैले यही म्यासेन्जरबाट नै तपाईंलाई पठाउने छु इमेल ठेगाना पनि पठाइदिनु होला ।
धन्यवाद डा. मतीप्रसाद ।”
यसरी थाहा भयो । पुस्तक त्यहाँ पुगेछ । त्यसो त मैले सिफारिस गरेको नाम हो डा. मतीको । केदार भाइको युद्ध आख्यान बहुत राम्रो छ प्रकाशक मणि भाइले राम्रो गर्छन् तर यतिखेर बौलाएका छन् भाइ मैले भनेँ ।
केदारले सोधे— ज्या है किन बौलाए छन् गुरु ?
मैले उत्तर दिएँ— पुस्तक व्यवसायीलाई सरकारले कडा कर लगायो । भारतका पुस्तक व्यापार गर्न नसक्ने भए त्यसमाथि कोरोनाले लडायो ।
केदारले साँच्चै भन्ने बुझेका रहेछन्, बल्ल बुझे किताप व्यवसायी संकटमा छन् । फेरि आश्वस्त पारेँ— संकट टर्ला भाइ । प्रकाशक मणि भाइ एकदम सज्जन मान्छे छन् ।
त्यसपछि मनमा लाग्यो एकसर्को फोन घुमाइसकेर मात्रै पढ्न थाल्नु प¥यो । अथवा लेखनतिर लाग्नु प¥यो । दाजुलाई गरेँ ९८५१०७७३६१ मा । दाजु भाउजु दुवैजना माथ्लो तला पुस्तकालयमा हुनुहुँदो रहेछ । दाजुले भन्नुभो— म फइल मिलाइरहेको छु । आफ्ना पुराना लेख रचना, निबन्ध, यात्रा, संस्मरण, समीक्षा, राजनीतिक लेख, अन्तर्वार्ता सबै बेग्लाबेग्लै ।
एकदम राम्रो दाजु । यो फुर्सदमा त्यसरी मिलाउनु होला । पाँचसय पृष्ठ सम्म पुग्ने एक पाण्डुलिपि तयार पार्नु होला म एक सर्को पढ्छु अनि त्यसलाई मिलेर पुस्तकको रुप दिऔँला ।
भाउजूका पनि दुई कृति पुग्ने सामग्री फेला परे ।
हुन्छ दाजु, ती पनि व्यवस्थित गर्नु होला । तिनलाई पनि प्रकाशनमा ल्याउनु पर्ला ।
त्यसपछि मेरो मन भाइमा पुग्यो— कस्तो छ भाइ आजको खबर ?
राम्रै छ दाजु । हिजोदेखि कान्तिपुर बन्द भयो । घरैमा बसेर काम गर्दैछु ।
रेनु तिम्रो कस्तो छ ?
मेरो पनि अहिलेसम्म काम छ दाजु घरैमा बसेर गर्दैछु ।
सानो मान्छे के गर्छ ? अहिले सुतिराखेको छ, घरैमा बिताउँछ ।
हुन्छ, केही परे म छु ।
यति भनेर फोन राखेँ । तर सानो विमार भइयो भने पनि कहाँ जानु के गर्नु, कसले हेर्छ, के हुन्छ । यो महाव्याधिमा कसले के भन्न सक्छ ? कुनै पूर्व अनुभववेगरको एक ठूलो आतङ्क आइलाग्यो तर पनि साहस बटुल्नु छ । मुख्य कुरा के भने यसबारे कुनै तथ्य थाहा छैन । सरकारले आजदेखि साबुन पानीको विज्ञान छोडेको छ र शब्द फेरेको छः विश्वव्यापी महामारी कोरोना भाइरस महामारी फैलेको समयमा घरैमा बसौँ साबुन पानीले बेलाबेला हात धोऔँ, र हाछ्युँ गर्दा कुहिनाले अथवा टिस्यूले मुख छोपौँ । तपाईंलाई स्वास्थ्य समस्या परेमा १११५ मा निःशुल्क फोन गरी सेवा उपलब्ध गरौँ ।
कुरा यस्तो छ । तर मन अशान्त छ । दमकमा फोन गरेँ, दाजु परिवार, खगेन्द्र–व्यञ्जना, गंगा, सबै होमलक्ड छन् । त्यहाँ खाद्यान्नको विषय ढुक्क छ ।
अनि थिसिस पढ्दै गएँ, सकिन लाग्यो रिपोर्ट लेख्तै गएँ सकिन लाग्यो । सेवाले खबर ल्याइन्— बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाले भेट्यो ।
दुःख लाग्यो । अलिक एकछिन्मा अर्काे खबर आयो बेलायतका स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीलाई पनि भेट्यो— झन् दुःख लाग्यो । मान्छे निरुपाय रहेछ ।
जनस्तरमा अनेक प्रकारका चेतना मूलक सामग्री व्यापक गरिएका छन् । मैले एक दुई हेर्दै गएँ । कताबाट आजै आयो— पश्चिमी नेपाल कतैको डाँडामाथि उभिएर कसैले लामो नरसिंगा जस्तो फुक्यो धुई धुई पारेर अनि उभिएर बोल्योः लौ कोरोनाले गर्दा आफ्नो घरदेखि कोही पनि अर्काको घरमा जान पाइने छैन । यदि क्यै कामले गएमा पाँच जना भन्दा बढी होइन, डेढ फूट भन्दा बढी फरकमा बस्नु पर्ने छ… यदि टाढाको यात्रा गर्नु परेमा जाँदा कार्यालयमा लगायत पुलिस चौकीमा जानकारी नगरेसम्म टाढाको यात्रा गर्न पाइने छैन हो … कसैले यो थाहा पाइनौँ भन्न पाइने छैन । कोरोना भाइरसले गर्दा आफ्नो बाहेक अरुको घरमा कोही पनि जान पाइने छैन… । कोही इण्डियाबाट विदेशबाट आएको भए आफ्ना घरमा सेप्रेट तरिकाले बस्नुपर्ने छ हो … घुइ धुइ (नरसिंगा) ।
यो प्राचीन समयको ‘कटुवाल’ प्रथाको सचित्र झल्का बोकेर फेसबुक उड्यो । इटालीबाट हिजै एक नेपालीले एउटा मौखिक क्लिप पठाएका थिए त्यो यस प्रकार छः
ढिलो हुनुभन्दा अघि नै विश्वले सुन्नुपर्ने अनि प्रतिक्रिया गर्नुपर्ने इटालीको सन्देश । इटलीबाट एउटा पत्र सबैको निम्ति शान्तिको चाहना । हामी इटलीमा बसोबास गर्छौं मिलानमा । यस्तो अप्ठ्यारो परिस्थितिमा मिलानमा जीवन कस्तो छ म त्यो तपाईंहरूलाई सुनाउन चाहन्छु अनि यो बुझाउन चाहन्छु कि हामीले गरेको भूलहरूको कारणले हामीले कस्तो परिणामहरू भोग्नुप¥यो । अनि ती भूलहरूबाट कसरी शिक्षा लिने त्यो सबै यहाँ बताउन चाहन्छु । हामी अहिले क्वारेन्टाइनमा छौँ । हामी अहिले बाटोहरूमा जाँदैनौँ । सेना र प्रहरीहरूले हाम्रा प्रत्येक क्रियाकलापहरू निगरानी गरिरहेका छन् । कसैलाई आफ्नो घरबाहिर देख्यो भने पक्राउ गरिहाल्छ । सबै सबै बन्द भएको छ । व्यापार, मलहरू सबै कुनै पनि बाटोमा चहलपहल देखिन्न । संसार अन्त्य भएको अनुभव भइरहको छ । इटली भनेको एउटा जिउँदो खिलखिलाउँदो देश आज अर्कै रूपमा रूपान्तरण भएको छ । यस्तो लाग्छ मानौँ यो युद्ध झेलिरहेको एउटा अँध्यारो कालो देश हो । यो साँचो हो कि मैले जीवनमा यस्तो दिन भोगुँला भनेर कहिल्यै सोचेको थिइनँ । मानिसहरू अलमल्ल छन् उदास छन् । सबैमा एक प्रकारको छटपटी छ । सहाराविहीन छन् सबैजना यो बुझ्न सकिरहेका छैनन् कि यो कटुसत्यता तिनीहरूमाथि कसले र कसरी थोपरे । यो दुःखको अन्त्य कहिले हुन्छ । सबैभन्दा ठूलो भूल यो थियो कि जब यो महामारीको पहिलो आक्रमण भयो तब मानिसहरूले यसको वास्ता नगरी आफ्नो दैनिकी जीवन सामान्य रूपमा चलाइरहे । सबैजना बाटोमा थिए आआफ्नो काममा थिए । मनोरञ्जन गरिरहेका थिए । लाग्थ्यो कि सबै जना छुट्टीमा छन् । तसर्थ साथीहरू माझ भेला हुनु र भोज गर्नु सामान्य थियो । सबै जना गलत थिए र तपाईंहरू पनि गलत गर्दै त हुनुहुन्न ? म हात जोड्छु कृपया नेपालमा एकदमै सावधानी अपनाउनु होस् । यो हाँस्ने र हँसाउने विषय पटक्कै होइन । आफ्नो आफन्त अनि मायालुहरूलाई जोगाउनु होस् । तपाईंहरूको माता पिता अनि बाजे बजूलाई विशेष गरी यो संक्रमण उनीहरूको निम्ति एकदमै भयानक हुनसक्छ यहाँ प्राय दुईसय भन्दा बढी मानिसहरूको प्रत्येक दिन मृत्यु हुँदैछ ।
यो मिलानमा औषधी राम्रो नभएर होइन । यहाँको औषधी विश्वको राम्रा औषधीहरूमा एक मानिन्छ तर यहाँ सबैको निम्ति ठाउँ छैन । अर्थात् संक्रमितहरूको संख्या यति छ कि यिनीहरूलाई राख्ने ठाउँ छैन । आज कसको मर्ने पालो त्यो डाक्टरहरू रोज्छन् । यो सबै आम नागरिकहरूले शुरुवातमा गरेको मूर्खताको कारणले हो जसले शुरुमा आफ्नो जीवन सधैँझैँ सामान्य रूपमा जिउने निर्णय गरे । भोलि आउने परिस्थितिको वेवास्ता गर्दै । दया गरी हाम्रो भूलबाट सिक्नुहोस् । हाम्रो देश सानो छ अनि यो एक ठूलो त्रासदीको रूपमा परिणत हुन सक्छ । अब राम्ररी सुन्नुहोस्— भीडभाड भएको ठाउँमा नजानुहोस् । यस्तो समयमा घरमा नै धेरै समय बिताउनु होस् । स्वास्थ्य विभागले दिएको दिशा निर्देशलाई पालना गर्नुहोस् । संक्रमित हुनुभन्दा पहिले नै यसबाट बच्ने उपायहरू अपनाउनु होस् । अनि अरुले गरेको गल्तीहरूबाट सिक्नुहोस् । स्वास्थ्य कर्मचारीहरू ! सहायता गरेर यो महामारीलाई अझ फैलिनुबाट रोक्नुहोस् । इटली वा भनौँ सम्पूर्ण इटली देश नै अहिले अलग राखिएको छ । यसको मतलब ६० मिलियन (छ करोड) मानिसहरू अहिले क्वारेन्टाइनमा छन । यसलाई रोकथाम गर्न सकिन्थ्यो यदि मानिसहरूले शुरुमा नै स्वास्थ्य संस्थानको दिशा निर्देशलाई पालना गरेको भए । आफ्नो ख्याल गर्नुहोस् अनि आफ्नो आफन्त र मायालुहरूको पनि ख्याल गर्नुहोस् । फेसबुक मार्फत इटलीबाट एउटा पत्र कोरोना भाइरसबाट आफू पनि बचौँ अरुलाई पनि बचाउँ । कोरोना भाइरस विरुद्धको यो विश्व युद्ध हामी अवश्य जित्ने छौँ ।
त्यसपछि एउटा कोरोना गीत आयो यूट्यूबमा
भन्छु साथी राम्रोसँग सुन सबैमिली
भगाउनु छ यो डरलाग्दो कोरोना घरमै बसौँ न
साथी घरैमा बसौँ न
कोरोनाको बिगबिगी छ कुरा बुझौँ न
हात धुवौँ न साबुनले हात धुऔँन
हात नमिलाई नमस्ते गरौँ न साथी
साथी घर्मै बसौँ न
कोरोनाको विगविगी छ घरमै बसौँ न
मास्क लगाउँ न साथी मास्क लसगाउँ न
खोकि अनि हाच्छिउँ गर्दा नाकमुख् छोपौँ न
जमघट नगरौँ साथी भीडमा नजौँ न
आखुम कम्मर कसौँ कोरोनालाई डाँडा कटाउन
धैर्य गरौँ न साथी धैर्य गरौँ न
एक दुई महिना गाह्रो परो सही बसौँ न
बन्दा बन्दी छ
विश्वव्यापी महामारीले
जनजीवन अज्ञात भएको छ
विश्व कारागारमै अहिले
कलीकालको प्रारम्भ छ यो
अहिल्यै मानिस यसरी मर्छन्
समयचक्र भइदियो क्रूरतम
आउने दिन कस्ता होलान्
अहिलेको विकराल कालमा
कालकै मुख कति पुगिरहेछन्
दिनदिनै बढ्दो छ तीव्र गति ली
मृत्युसित सब हारिरहेछन्
अस्ति नास्तिको प्रश्न खडा छ
जलजला भीषण मच्या मच्यै छ
जानीजानी अनजान नबनौँ
भाइरसले विश्व छोपेको छ
अति डरलाग्दो छ यो भाइरस
जनजनलाई तर्साउँदो छ
कसैको कहीँ मृत्यु नहोओस्
सबले घरमै बस्नु पर्दछ !
मानव मातम मनाइरहेछ
सर्वत्र बज्रपात भएको छ
रुनेको आँसु पुछ्ने क्वै छैन
भाइरस ता अजेय भएको छ !
इटली इरान फ्रान्स बेलायत
सब ठाउँ काल जागेको छ
महान् देश अमेरिकामा हेर
मानिस आज पशुवत मर्दोछ
बेलुकीपख रामको फोन आयो— दाजु के कसो छ ?
राम्रो छ, तल भाटभटेनी जान हिँडेका पुलिसले रिङरोडमा झन्डै थला पा¥यो ।
म पनि सडकमा पुगेको थिएँ झन्डै सुम्ला बसायो ।
अस्तिका दिन हाम्रा धुलाबारी प्रकाश दाइलाई काँकरभिट्टाको डाँडामा लगेर सबुन पानीले नुहाउन लगायो अरे ।
अहो ! मुस्किल प¥यो दाज्यू । हजुरका किताप दुईवटा भएजति सकेँ, अझै ल्याउनु पर्ने रहेछ । कोरोना पढेर बस्ने मौका रहेछ । अहिले हिँडन सकिन्न ।
मैले भनेँ— भाइ म त कोरोनाको डायरी लेख्दैछु । अघि घरैमा बसेर भूकम्प डायरी लेखेँ । प्रेसमा जाँदैछ अब कोरोना डायरी लेख्दैछु ।
दाजुको लेखन प्रभावकारी छ । पठनीय हुन्छ, लेख्नु होला । मैले पनि ३०–४० बर्ष लेखेँ, पत्रकारिता गरेँ तर त्यस्तो क्यै नरहने रहेछ ।
सिर्जनाको कृति बाहेक अरु केही बाँच्तैन । पत्रकारिता दिनभरिको मात्र हो । छोडेपछि ठूलाठूला पत्रकारलाई पनि समयले खाइदिन्छ । हाम्रो भाइ जस्तो प्रतिभाशाली लेखक को हुन्थ्यो होला जस्तो लाग्छ जसले २५ वर्षमै उत्तम शान्ति पुरस्कार प्राप्त गरेका थिए ।
हाम्रो भाइ परिवारमै श्रेष्ठ लेखक हुने मान्छे, साहित्य छोडेर पत्रकारिता मात्रै गर्नु हामीलाई ठूलो नोक्सान हो । सधैँ रहने, सम्झिइने कृति नै चाहिँदो रहेछ ।
अब म पनि लेख्न थालेँ दाजु ।
यति कुरा ग¥यौँ । अनि मैले थपेँ— अब हाम्रो डा. शिवले लेख्छन्, उनको भाषा र भावना राम्रो छ ।
म पनि प्रयत्न गर्छु दाजु ।
हेर्नू भाइ जसको पिताजी ८४ वर्षको उमेरमा पुस्तक निकाल्दै हुनुहुन्छ, त्यस्ताका सन्तान हामीले केही सिर्जना प्रयत्न गरेनौँ भने यो जीवन व्यर्थ हुनेछ । फेरि यो बेला उयुक्त छ ।
त्यसपछि आसामका कवि मोहन सुवेदीले पोष्ट गरेको एउटा कविता आयो— विरामी पृथ्वीः
हत्केलामा एक मुठी माटो बोकेर
संकल्परत मानिसहरु टाढिँदैछन् एक अर्काबाट
शृङ्खलाहीन मानव जातिको
मनभरि राँको भएर बल्दैछ मृत्यु सूचना
रोक्यो एक्कासी हावापानीको गति
पाइतालका शब्दहरु मन्दिर मस्जिद
र गिर्जाघरको द्वार
अनाम आधारको बोझले सचेत छ
समग्र देश, मानिस, माटो र माया
नचिन्ने हुनुपर्ने भयो एक अर्कालाई
उपलब्धीको एउटा निर्वाक समय
सुतिरहेको छ सिंगो अस्वस्थ पृथ्वी
अप्रासङ्गिक बन्यो धर्म वर्ण र समस्त परिचय फगत एक्लो
मानिस उभिएको छ भुँइको माटोलाई
छुँदै हातले समातेर
हत्केलामा बोकेर एक मुठी माटो
संकल्परत मासिनहरु टाढिँदै छन् एकअर्काबाट
बढ्दैछ दूरत्व मानिसको बीच
बाच्नका लागि प्रेमहीन यन्त्रणा
धेरै टाढासम्म कुदाउँछ स्वयम्लाई
खुबै अप्रासंगिक बन्यो कल्पित ईश्वर
कुन्ठित आक्रमणबाट भाग्दै आएर
मानिस उभिएको हुन्छ ऐनाको सामु
अनि हातले सुमसुम्याउँछ आफ्नो न्यास्रो अनुहार
सम्झिएर पृथ्वीको विरामी अवस्थालाई
सबैभन्दा ठूलो सत्य हो यो
मानिसको सचेत उपस्थिति
प्रार्थना गर्दछ मृत्युको विरुद्ध एक प्रस्ताव
— तेजपुर, आसाम
यो निकै बौद्धिक र वैचारिक स्तर भएको कविता सुनेर अहिले सूचना प्रविधिले जोडिएको ग्लोबल विश्वलाई नमस्कार गरेँ । नत्र कहाँ तेजपुर आसामका उनी कहाँ सुकर्मटोलको म यसरी क्षणभरमै भेट हुन्थ्यो ? साथै ग्लोबल विश्वलाई एकछिन धिक्कारेँ— तिमीले यो विश्वलाई एक डल्लो बनायाँै, ग्लोबल भन्दा सानो । त्यसैले एकतिरको सुखले हाम्रो भुइँ छुन नपाउँदै अर्कातिरको दुखकष्ट आतङ्क पनि उही आँगनमा बर्षिन्छ । नत्र चीनको कोरोनाले हामीलाई छुने थिएन, इटाली र अमेरिकाले पनि । आआफ्ना दुःख र सुखका सीमा हुन्थे । यो सीमा भत्काएर हामीले सारा निस्सिम बनाउन खोज्यौँ त्यसैले दुःखका प्रशान्त महासागर पनि साझा भए सुखका पनि ।
यो घरीको आकाश महासुनसान छ । जहाज एउटै उडेको छैन । बाटा पनि त्यस्तै । गाडी एउटै गुडेको छैन । मानिसहरु त्रस्त भएरै होला सुनसान छ । सबैतिर सोध्छु, उही खबर आउँछ— हामी लकडाउनमा छौँ यतिखेर ।
आजदेखि मोबाइलको रिङटोन पनि बद्लेको छः विश्वव्यापी महामारीको रुपमा फैलेको कोरोनाको संक्रमणबाट जोगिन घरैमा बसौँ र अरुलाई बचाऔँ । तपाईंको परिवारमा कोही बिरामी भएमा १११५ मा निशुल्क फोन गरी सल्लाह लिनुहोस् ।
त्यसो त हिजोदेखि अरु सेवा पनि आए । एउटा कम्पनीले भन्यो— सामल पानी चाहिएमा यो नम्बरमा गर्नुहोस्, त्यसैगरी औषधी कम्पनीले भने ९८५११२६४६३ यो नम्बरमा, ह्वाट्सपमा फोन गर्नुहोस्, डाक्टरको पूर्जा या खोल समेत, हामी औषधी उपलब्ध गराउने प्रयत्न गर्नेछौँ ।
आज पनि रविन्द्र समीरको राम्रो सल्लाह आयो । गाउँघरमा मास्क लगाउनु पर्दैन, आइसोलेशनमा बस्नु पनि पर्दैन । बारीमा खेतमा अलग अलग ठाउँमा काम गरे हुन्छ । घरमा पनि शहरमा जस्तो बढी सतर्कता पर्दैन । तर यो पहिलो अनुभव कसले के के भन्न सक्छ र !
अनि दिन ढल्यो । बेलुका ‘अर्लि डिनर’ मा बस्यौँ सेवा छोरी आफैँ के के बनाएर कतिबेला खान्छिन्, हामीसँग मिल्दैन । फाष्टिङ (उपासना) टाइमटेबल र खाद्य वस्तु उनको आफ्नै छ । अञ्जनाको तीनबजे ‘डिनर’ सकेर बसेकी; म भरे छमा मात्र अनि दुई गहुँ–मकै मिश्रित रोटी, अलिकति सीमि शब्जी, दाल र १०० मिलिलिटर दूध । त्यति सकेँ, दबाइका ढिकाहरुको पालो मिलाएर दिएँ । अनि साना थर्मसमा पानी भरेर पुस्तकालय चढेँ । त्यसो त पानी माथि नै उमाले पनि हुन्छ तर यहाँ दुई शेरे बडा थर्मस पनि भरी राखिएको हुन्छ ।
त्यसपछि ‘सचेतता विज्ञापन’ बोकेर एउटा भिडियो क्लिप आइपुग्यो, खोलेर सुने—
कोरोना जनचेतना कार्यक्रम अन्तर्गत मह जोडी (मदनकृष्ण हरिवंश आचार्य) अन्य प्रतिष्ठित व्यक्तित्वहरु— दीपकराज गिरी, दीपाश्री निरौला, सुनिल थापा, सरोज खनाल, सरिता लामिछाने, शम्भुजित बाँसकोटाहरुले मिलेर यूट्यूब च्यानलमा प्रसारित गरेका तलको गीत सुन्ने अवसर प्राप्त भयो । सरोज ओलीद्वारा लिखित यो गीत रचना त्यति आकर्षक छैन तर ठूलाठूला कलाकारले बनाएका छन् । यस्तो भय त्रासमा पनि यी कलाकार भेला भएर राष्ट्र र जातिको लागि यो कर्म गर्नु सानो कुरा होइन । गीत यस्तो छः
कोरोना भाइरस, कोरोना भाइरस
कोरोना भाइसरको संक्रमण हुन सक्छ
कोरोना भाइरसबाट बच्न सचेत बन्नु पर्छ
हामी सजग बन्नुपर्छ
कोरोना भाइरस
सासै फेर्न गाह्रो भए लगातार खोकी लागेमा गाह्रो हुँदै गएमा यस्तो लक्षण देखिए तोकिएको स्वास्थ्य संस्था गै कोरोना भाइरसबाट बचौँ ढुक्क भै भीडभाडमा जानु हुन्न जाने गरे पनि सतर्क हुनुपर्छ । नियमित साबुन पानीले कम्तीमा २० सेकेन्ड हात धुनुपर्छ कोरोना भाइरस … ।
रोगको लक्षण देखियो भने छुट्टै बस्नु पर्छ खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्नुपर्छ, जथाभावी थुक्नु हुन्न विचार गरौँ है, अङ्कमाल भन्दा पनि नमस्कार गरौँ, हात मिलाउनु भन्दा पनि टाढैबाट आदाव दर्शन गर्ने गरौँ नियमित साबुन पानीले कम्तिमा २० सकेन्ड हात धुुनुपर्छ कोरोना भाइरस …।
यसरी यो देशका लोकप्रिय कलाकारहरुले यस्तो राष्ट्रिय संकटको समयमा अचेत नागरिक समुदायमा सचेतता पु¥याउन चिन्ता राखेका छन् । कवितामा कोही, गीतमा कोही, भजनमा कोही, प्राचीन माधयम अत्याधुनिक सिष्टममा पसेर गरेको देख्ता मनमा ढुक्क लाग्छ । यो देशमा मेरा लागि अरु पनि कति चिन्तित रहेछन्, मेरो बेहोसीले पो अरुलाई कतै हानी पुग्छ कि जस्तो पनि लाग्छ । तर यसबारे जानेको केही छैन ।
अर्को पनि एउटा गीत फेला पारेँ मेलिना राईको— नेपाली जनजीवनले यो महामारी चल्न थालेपछि यसका लक्षणबारे बुझेका कुरा, यसको रोकथामको निमित्त नेपाली संस्कृतिबाट बुझेका केही सल्लाहसाथ त्यो आयो ।
बेलुका बिसाउने बेलामा एक नयाँ पोष्ट आयो । यो अर्कै संसारबाट प्रसारित । हिजो बिहानै (२७ मार्च २०२०) मा प्रसारित यो जानकारी अत्यन्तै महत्वपूर्ण लागेर सुनेँः
विश्व स्वास्थ्य संगठनले दिएका पाँचवटा स्वास्थ्य सल्लाह । कोभिड–१९ महाव्याधिका अवसरमा डाइरेक्टर जेनेरल तेद्रोस अन्धनोमले दिएको विज्ञप्ति
हामीलाई थाहा छ, हामीमध्ये धेरैको जीवन नाटकीय ढङ्गले बदलिरहेको छ । मेरो जीवन पनि भिन्न छैन । मेरी छोरी पनि यतिखेर घरैबाट अन्लाइन क्लास लिँदैछन् । किनकि उनको विद्यालय बन्द छ । अरु संसारको लागि यो भन्दा डरलाग्दो स्थिति आउन पनि सक्छ । तर यो भाइरसलाई अलिक ठेल्ने, निस्तेज गर्ने शहर र देशले अलिकति आशा दिन्छन् । यो कठोर समयमा तपाईंले आफ्नो मानसिक एवम् शारीरिक स्वास्थ्यको ख्याल राख्नु जरुरी छ ।
डाइरेक्टर जेनेरलका यी शब्द पढी सकेँ । तर मलाई अलिकति हाँस पनि उठ्यो । बुँदा एकमै भनेका छन्— राम्रो रोज्जा खाने कुरा खानुहोस् ।
यस्तो बेलामा सबैलाई त्यो असम्भव छ । त्यसमाथि दुःखी गरीब र श्रमिकवर्ग नेपालको आधि जनसंख्या होला कसरी छाक जुट्छ यस्तो बेलामा । राम्रो, मीठोको कुरै नगरौँ ।
म वरिपरि हेर्छु काठको काम गर्ने, गारो लाउने, रंग लगाउने, भारी बोक्ने, डोकामा शब्जी बेच्ने, यस्तै दुःखी छन् सबै । वरिपरि सबै भाडा किराइमा बस्नेहरु छन् सबै । यिनीहरुसँग सातदिन खाने पनि अन्न हुँदैन । कस्तो कष्टको जीवन छ । यो उपदेश त त कुनै सम्पन्न सभ्रान्तको लागि तयार पारिएको हुनुपर्छ । अथवा दुःखीहरुका जगतको कुनै अनुभव नभएकाले लेखेको हुनुपर्छ ।
साहित्यपोस्ट बाट