Share this News on Social Networking Pages


६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिन प्रस्ताव

काठमाण्डौ,२८ पुस ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने तयारी गरेको छ ।

लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो ।

हाल हरेक दिन सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था छ । यसले गर्दा दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन सक्ने अवस्था छ । लाइसेन्सको परीक्षामा सहभागी हुन चाहाने हजारौंले दिन(दिनै फारम भरेपनि अनलाइनबाट ‘सब्मिट’ गर्न सास्ती भोगिरहेका छन् । अझ विहान ६ बजे अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राही यातायात व्यवस्था विभागको साइटमा आउने गर्दा प्रणालीमै समस्या देखिन थालेको छ ।

अब भने लाइसेन्सको परीक्षा दिन चाहानेले जुनसुकै समयमा आवेदन भर्नसक्ने र आफ्नो फारम भरेर ‘सब्मिट’ गरेपछि आवेदकलाई यो दिनमा परीक्षामा हाजीर हुन भनेर प्रणालीमार्फत नै जानकारी दिने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

९ महिनापछि लाइसेन्सको परीक्षा खुलेकाले लाइसेन्स कार्यालयमा ठूलो चाप छ । तर, कार्यालयको लाइसेन्स वितरण क्षमता सीमित भएकाले सेवाग्राहीलाई नै सास्ती भएको छ ।
यसैबीच सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । अब प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभार दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

अहिले प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा सतप्रतिशत अंक ल्याउनुपर्छ । ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ । हाल प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन नसक्नेले पनि सबै प्याराममिटर सजिलै पार गर्न नसक्ने अवस्था रहेकाले अब उत्तीर्णाङ्क तोकेर परीक्षा लिने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए

अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । अब फिगर–ड टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, ¥याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक–फरक अंकभार दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

यो व्यवस्थापछि नक्कली लाइसेन्स लिने र घुस दिएर सवारी चालक अनुमतिपत्र निकाल्ने प्रवृत्तिमा पनि कमी आउने मन्त्रालयको दावी छ ।