Share this News on Social Networking Pages

कांग्रेस सांसदको प्रश्न : प्रधानमन्त्री हिटलर हो ?

काठमाडौं,२३ पुस ।
राष्ट्रियसभाका सांसदहरूले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरूले संसद बिघटन गर्ने प्रधानमन्त्री आेलीकाे चर्का बिराेध गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाए ।
उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरे ।

‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने ? अरु राजनीतिक दलले मात्र मानिदिनुपर्ने’ उनले प्रश्न गरे ‘प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको ? उहाँले जे गर्नुहुन्छ त्यो मानिदिनुपर्ने ?’ सांसद रायमाझीले प्रधानमन्त्री ओलीले संविधान विपरीत संसद विघटन गरेको र काम चलाउन भइसकेको सरकारमा मन्त्री थप गरेको भन्दै आलोचना गरे ।

प्रधानमन्त्रीले पदमा रहने आफ्नो योग्यता गुमाएको उनको टिप्पणी थियोे । संविधानअनुसार प्रधानमन्त्री रहन संसद सदस्य रहनुपर्ने, बहुमत सांसदको समर्थन हुनुपर्ने र मानसिक अवस्था ठीक हुनुपर्ने उल्लेख गरेको भन्दै रायमाझीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भनी प्रश्न समेत गरे ।

‘असंवैधानिक काम गर्ने व्यक्ति प्रधानमन्त्री हुन सक्छ कि सक्दैन ?’ उनले भने ‘उहाँको मानसिक सन्तुलन गुमिसक्यो भन्न मिल्छ कि मिल्दैन ?’

सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको पनि बदनाम गरेको रायमाझीले टिप्पणी गरे । राष्ट्रपतिलाई हरेक कागजमा सही गराउने ? ‘उहाँ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हो ? नेकपाको कार्यकर्ता हो ?’ रायमाझीले प्रश्न गरे ।

सरकारले राष्ट्रपतिलाई प्रभावमा पारेर महिलाहरु काम गर्न असक्षम भएका हुन् भन्ने प्रश्न खडा गरिदिएको पनि बताए । ‘तर एउटा तानाशाहको भरमा हिँड्दा राष्ट्रपति माथि प्रश्न उठेको छ’ उनले भने ।

प्रधानमन्त्री ओलीका कारण गणतन्त्र मुलुकको लागि अफापसिद्ध हो भनेर प्रचार गर्नेहरु हौसिएका रायमाझीले बताए ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले ‘प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय आचरण विपरीत काम गरेको सांसद यादवको आरोप छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, काम सम्मान पाउने गर्नुभएको छैन, सम्माननीय प्रधानमन्त्री भनौं कि असम्माननीय प्रधानमन्त्री भनौं ? बडो द्विविधामा छु’ बैठकमा यादवले भने ।

पार्टीको आन्तरिक विवादलाई निहुँ बनाएर जननिर्वाचित संस्था विघटन गर्नुलाई सांसद यादवले श्रीमती वा बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गरे ।

आफूलाई घेराबन्दीमा पारेको भन्ने प्रधानमन्त्रीको भनाइको पनि उनले प्रतिवाद गरे । यादवले भने, ‘घेराबन्दीमा पार्‍यो रे ! कसले पार्‍यो घेराबन्दीमा? चुच्चे नक्सा ल्याउँदा के प्रतिपक्ष के सत्तापक्ष सबैले साथ दिएको होइन ? कुन विषयमा गर्‍यो संसदमा उहाँलाई घेराबन्दी ?’

देशको अभिभावक र संविधानको संरक्षक राष्ट्रपतिले पनि प्रधानमन्त्रीको कदमलाई सदर गर्न नहुनेमा उनको जोड थियो । यादवले भने, ‘मिल्छ भने संसद् विघटन फिर्ता लिइयोस् ।’

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजीनामा दिएर भएपनि पार्टी एकता जोगाउनुपर्नेमा संसद भंग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे ।

संसद विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएका छन् । दुवै समूहमा नलागेका गौतमले बिहीबार राष्ट्रियसभा बैठकमा पार्टी विभाजनको कुनै औचित्य नभएको बताए ।

प्रधानमन्त्री ओलीले ‘अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्न खोजिए दुर्भाग्यपूर्ण हुनेछ’ भन्ने गरेको भए पनि संसद भंग गर्दा आफूलाई नसोधेको उनको गुनासो छ ।

‘मैले उहाँलाई सल्लाह दिएको थिएँ, पार्टीमा जब नेताहरु अल्पमतमा पर्छन्, प्रधानमन्त्री नै भएपनि राजीनामा दिनुपर्छ,’ उनले भने, ‘पार्टी जोगाउनका निम्तिमा अन्तिम पटक पनि उहाँसँग अवसर थियो । अविश्वानसको प्रस्ताव लगिरहेका छन् भन्ने थाहा पाएपछि मैले सोचेँ, म त्यो ठाउँमा भएको भए अविश्वानसको प्रस्ताव दर्ता गर्नुभन्दा पहिले नै राजीनामा दिन्थेँ । त्यसले मैले मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्र्यो र, एउटा उदाहरण प्रस्तुत हुन्थ्यो ।’

त्यहीकारण आफूले संसद विघटनलाई सर्मथन नगरेको र असंवैधानिक कदम भनेको उनले बताए ।

राष्ट्रियसभाका सांसदहरू रामनारायण विडारी,गंगा बेल्वासे, प्रकाश पन्थ लगायतले पनि प्रधानमन्त्रीले असंवैधानिक तरिकाले सनकको भरमा प्रतिनिधिसभा विघटन गरे भन्दै विरोध गरेका थिए ।