बुटवल,४ बैशाख ।
बुटवलसहित देशका तीन स्थानमा केवलकार निर्माण गरिरहेको प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले सार्वजनिक सेयर निष्कासन गर्न बिक्री प्रबन्धक छनौट गर्ने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

अधिकृत एवं जारी पूँजी १ अर्ब तथा चुक्ता पुँजी ७० करोड रहेकामा चुक्ता पूँजी १ अर्ब पु¥याउन ३० करोड रुपैंया बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

साे कम्पनीमा प्रभु ग्रुप अन्तर्गतका प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड, प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु जलविद्युत विकास लिमिटेड गरी ५ वटा कम्पनीको लगानी रहेको छ ।

यस ग्रुपले विभिन्न क्षेत्रमा लगानी बढाई रहेको छ । शिलबन्दी बोलपत्रमा सहभागी हुन बिक्री प्रबन्धक बन्न इच्छुक कम्पनीहरुले ४५ कार्य दिनभित्र निवेदन दिइ सक्नुपर्नेछ । कम्पनीको लगानी रहेको बुटवलको सिद्धार्थ केवलकार निर्माणको अन्तिम चरणमा पुगेको छ । कम्पनीको लगानी रहेको बुटवल सिद्धार्थ केवलकार पूर्ण क्षमतामा सञ्चालनको तयारीमा छ ।
मणिमुकुन्द सेन फूलबारी नजिकै देउराली डाँडा बटम स्टेशन रहेको सिद्धार्थ केवलकारको टप स्टेशन पाल्पा तिनाउगाउँपालिका नुवाकोट जोडिने छ । सिद्धार्थ केवलकारको पहिलो चरणको सञ्चालन नयाँ वर्ष वैशाख १ गते नै गरि सकिएको छ । विश्वशान्तिको केन्द्र गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आउने विभिन्न बुद्ध धर्ममान्ने राष्ट्रका नागरिकलाई विशेष छुट दिई भगवान बुद्धका कुल गुरु महर्षि कालदेवलको आश्रममा लगिने कम्पनीको योजना रहेको छ ।

यो केवलकारबाट बुद्धधर्मावलम्वीहरु एवं लुम्बिनी भ्रमणमा आउने अनेकौं राष्ट्रका पर्यटकहरुले भ्रमण गरि पाल्पाको नुवाकोट स्थित विश्वकै पुरानो कामना भैरबको दर्शन गर्ने र नुवाकोट गढीस्थित पुरा तात्विक सम्पदाहरुको अवलोकन समेत गर्नेछन् ।

२ किलोमिटर दुरी रहेको यो केवलकारमा पच्चिसवटा गोण्डला रहेका छन् । यसबाट प्रतिघण्टा ५ सय यात्रुलाई ओसारपसार गर्न सकिन्छ । प्रभु केवलकारले अरु दुईवटा परियोजना निर्माणको लागी जग्गा खरिद गरिरहेको जनाएको छ ।

कम्पनीका अध्यक्ष भोजकुमार खड्काका अनुसार रामेछाप जिल्लाको खाँडादेवी मन्दिर र सिन्धुलीको सिद्धबाबा मन्दिरमा जाने दर्शनार्थीलाई लक्षित गरि केवलकार निर्माण गर्नेकाम भई रहेको छ ।