पाल्पा,४ वैशाख ।
सुरुङ खन्न रातिको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग सय दिनपछि पूर्ण रूपमा सञ्चालन एको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानको सिद्धबाबा क्षेत्रमा रातिको समयमा बन्द हुँदै आएकामा पूर्ण रूपमा सञ्चालनमा आएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

दुईतर्फबाट सुरुङ खन्न, राजमार्ग चौडा गर्नुका साथै रकनेटको काम गर्न रातिको समयमा दैनिक ६ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुँदै आएको थियो । गत पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म सिद्धार्थ राजमार्ग बन्द हुँदै आएको थियो ।

सिद्धबाबा क्षेत्रमा १ हजार १ सय २६ मिटर सुरुङ निर्माण गर्न २०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भएको थियो ।

राजमार्गको पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सुरक्षित आवागमनका लागि सरकारले सुरुङमार्ग निर्माण गर्ने योजना अगाडी सारेको थियो । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्नेछ ।