सुर्खेत,२४ कार्तिक ।
भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहेका छन् ।

उनको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । विष्टको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

यससँगै कार्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ ।

हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरुको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।