कास्की,२८ फागुन
उच्च अदालत पोखराले पृथ्वीनारायण (पीएन) क्याम्पस पोखरालाई चैत २ गतेसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आइतवार उच्च अदालत पोखराका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले सङ्गठनको नामको विषयलाई लिएर परेको रिटमाथि अन्तरिम आदेश नआउँदासम्म कुनै गतिविधि नगर्न आदेश दिएको हो ।

विद्यार्थीहरू दीपसन गुरुङ, विप्लवी न्यौपानेले स्ववियु चुनावमा भाग लिन स्वतन्त्र विद्यार्थी समूह बनाएर सङ्गठन दर्ता गरेका थिए । क्याम्पसमा मतदाता झुक्किने गरेर अनेरास्ववियु र नेविसङ्घले डमी सङ्गठन दर्ता गराएका थिए । पछि निर्वाचन अधिकृतको कार्यालयले त्यस्ता सबै नाम परिवर्तन गर्दा गुरुङ, न्यौपानेको सङ्गठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो ।

त्यसपछि पुरानै नाम कायम माग गर्दै न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा फागुन २६ गते रिट दर्ता गराएका थिए । उनले पुरानै नाम कायम गरिदिन क्याम्पसलाई विपक्षी बनाएर अन्तरिम आदेश माग गरेका थिए । त्यस रिटमा अल्पकालीन आदेश दिएर उच्च अदालतले दुवै पक्षसँग छलफल गर्न चैत २ गते अर्को पेसी तोकेको छ ।