काठमाडौ,२२ फागुन ।
हाेलीकाे बहानामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएकाे भन्दै राजधानी काठमाडौंमा साढे ४ सय सवारी साधन प्रहरीले जहाँको तही राेकेकाे छ ।

उपत्यकामा युवायुवतीले होली मनाउने क्रममा मादक पदार्थ सेवन गर्ने र गाडी हाँक्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले विभिन्न ठाँउमा चेकजाँच गरेको छ ।

दिउँसो साढे २ बजेसम्म ४४५ सवारी साधन होल्डमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये १८ वटा चारपाँङ्ग्रे र ४२७ वटा दुईपाँङ्ग्रे हुन् । ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रभु अभिनारायण काफ्लेका अनुसार हेल्मेट नलगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्नेलगायत कार्य गरेकालाई होल्डमा राखिएको उनको भनाइ छ ।

ट्राफिक कार्यालयले आज काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक प्वाइन्ट’ राखेको छ । त्यस्तै, होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले ६०५ ट्राफिक प्रहरी खटाइएको छ ।

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा उल्लासपूर्वक होली पर्व मनाइएकाे छ । आज राजधानीका नयाँ बानेश्वर, वसन्तपुरलगायत स्थानमा होली खेल्नेको निकै भीडभाड छ ।