बुटवल,२२ माघ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुटका लागि भारतसँग कूटनीतिक पहल गर्ने बताएका छन् ।
आइतबार विमानस्थलको अवलोकन गर्दै मन्त्री किराँतीले गौतमबुद्ध विमानस्थलको रुटको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भारतसँग कुरा राख्ने बताएका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि रुटको विषय मुख्य एजेन्डामा पर्ने उनको भनाई छ ।
श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्रमन्त्रीको भ्रमणमा पनि कुरा भएको उनले जानकारी दिए ।
उनले मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुने र कुटनीतिक तहबाट पहल गर्नुपर्ने विषयलाई पनि प्रमुख प्राथमिकतामा राखिने बताए।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा समस्या देखिएको, भारतीय नागरिकलाई नोअब्जेक्सन लेटर दिने व्यवस्था नभएको, इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) संचालन नहुँदा अन्तर्राष्ट्रिय उडान रोकिएकोले माथिल्लो तहबाट पहल गर्न मन्त्री किराँती समक्ष आग्रह गरेका थिए ।
मन्त्री किराँतीले गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान स्थगित गरेको र नेपाल एयरलाइन्सले उडान नगरेकोबारे पनि चासो राखेका थिए। उनले आफू काठमाडौं फर्किएलगत्तै नेपाल एयरलाइन्सको जहाजमार्फत् भैरहवाबाट तत्काल उडान सुरू गर्न प्रक्रिया अगाडि बढाउने बताए ।
गौतमबुद्ध विमानस्थलमा पहिलो पटक आएका किराँतीले विमानस्थलको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।
उनले विमानस्थलबाटै देशको सरसफाइको अवस्था थाहा हुने भएकोले विमानस्थल सफा राख्न आग्रह गरे ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै दुई महिना यता उडान रोकेका छन्। नेपाल र चिनका नीजि क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका थिए।