काठमाडौं,२२ माघ ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गरेकी छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सर्वसम्मत हुने देखिएको छ ।

नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत हुने सम्भावना बढेको हो ।

नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले उपाध्यक्ष माओवादीलाई दिने विषयमा सहमति भएको बताए ।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन् । २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन् ।

उनी २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन् । अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेकी थिइन्।उनी अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन् ।