खोटाङ,१३ मंसिर ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।
दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पारेको भन्दै नगरपालिकाले लगलगे कन्ट्रक्सनको एक्स्काभेटर र ट्याक्टर मंगलबार नियन्त्रणमा लिएको हो ।
करिब ४६ लाख रुपैयाँको लागतमा असार मसान्तसम्म सक्ने गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासंग २०७८ माघ २० गते सम्झौता गरेको थियो । उक्त म्याद समेत गुजारेपछि फेरि पुससम्मका लागि म्याद थपिएको छ ।
थपिएको समयसम्म काम सक्नुपर्नेमा निर्माणस्थलमा ल्याइएको निर्माण सामग्री लिएर भाग्ने प्रयास गरेपछि एक्स्काभेटर र ट्याक्टरहरुमा ताला लगाएर नियन्त्रण लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेश घिमिरेले जानकारी दिए । ‘सक्नु पर्ने समयमा कामै नगरी भाग्न लागेकाले एक्स्काभेटर र ट्याक्टर चाबी लगाएर नियन्त्रणमा लिइएको हो ।’ घिमिरेले भने, ‘सम्बन्धित निर्माण कम्पनी आएर काम सक्ने वातावरण नबनाइन्जेलसम्म नियन्त्रणमा लिन्छौं ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रभित्रका विभिन्न योजनाहरुको ठेक्का लिएर अलपत्र पारिएकाको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयहरूले पनि नगरपालिकासँग आक्रोश पोख्दै आएका थिए । स्थानीयले योजना अलपत्र पार्नेलाई तत्काल काम गराउन र नगरे नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राईलाई नै थुन्ने चेतावनी समेत दिएका छन् । ‘हामीलाई हेपिएको हो, जोसुकै होस् हामी छाड्दैनौं,’ स्थानीय दुर्गाप्रसाद घिमिरेले आक्रोश पोखे, ‘ठेक्का लिएर अलपत्र पार्नेहरूलाई कुनै पनि हालतमा छाड्नेवाला छैनौं ।’