काठमाण्डौ,१३ मंसिर ।
कर्णाली प्रदेशमाथि सात विकेटले हराउदै बागमती प्रदेशले राजधानीमा जारी वाइवाइ यु– १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार सम्पन्न खेलमा कर्णालीले ३६.२ ओभरमा सबै विकेट गुमाएर दिएको एक सय ३१ रनको लक्ष्य बागमतीले तीन विकेटको क्षतिमा पूरा गरेको हो । यससँगै बागमतीले जारी प्रतियोगितामा अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको हो ।

मध्यम लक्ष्य पछ्याएको बागमतीका लागि लुक्की कठायत र अशोक पौडेलले अर्धशतकीय पारी खेले। आठ चौका प्रहार गर्दा कठायत ५१ रनमा अविजित रहे । ६४ बलको सामना गरेका पौडेलले सात चौका र एक छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक स्कोर गर्न सकेनन् । बलिङतर्फ कर्णालीका अनुज चनारा, युनिस सिंह र आवास साहले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि कप्तान विपिन रावलले अर्धशतकीय पारी खेले । उनले ९२ बल खेल्दा नौ चौकाको सहयोगमा व्यक्तिगत ६८ रनको योगदान गरेका थिए । यस्तै अर्का ओपनर मनीष थापाले २५ रन जोड्दा अनिरुद्ध कावरले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको पारी खेल्न सकेनन् ।

बलिङतर्फ ७.२ ओभर बलिङ गरेका सक्रिय कार्कीले दुई मेडन राख्दै २३ रन खर्चिएर सर्वाधिक पाँच विकेट निकाले । अहम्मद राजाले तीन विकेट हात पार्दा ओमकार यादव र अभिषेक कोइरालाले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

जितसँगै बागमतीले चार खेलबाट आठ अंक जोडेको छ । कर्णालको समान चार खेलबाट दुई अंक मात्र छ । सुदूरपश्चिमसँग समान आठ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा छ ।