काठमाडौं,१३ मंसिर ।
मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ हालसम्म ९८ लाख २१ हजार सदर मत गणना भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेले २६ लाख ४६ हजार मत पाएको छ । निर्वाचन आयोगले समानुपातिकको सिट निकाल्न प्रयोग गर्ने सेन्ट लग विधिबाट हिसाब निकाल्दा एमालेले ३४ सिट पाउँछ । यसअघि जनमत पार्टीले थ्रेसहोल्ड नकटाउँदासम्म उसको ३५ सिट थियो ।

नेपाली कांग्रेसले समानुपातिकततर्फ २५ लाख मत कटाएको छ । कांग्रेसले अब ३२ सिट पाउने देखिन्छ । जनमतले थ्रेसहोल्ड नकटाउँदासम्म उसले ३३ सिट पाउने आकलन थियो ।

माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उछिनेर तेस्रो बनेको छ । माओवादी केन्द्रले ११ लाख २८ हजार मत पाएको छ । रास्वपाले १० लाख ८५ हजार मत पाएको छ । यो मतपरिणामका आधारमा माओवादी केन्द्र र रास्वपाले १४÷१४ सिट पाउँछन् ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ५९ हजार मत सहित ७ सिट पाउने देखिन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ७८ हजार मत सहित ५ सिट पाउने देखिन्छ ।

मंगलबार बिहान जनमत पार्टीले समेत थ्रेसहोल्ड कटाएको छ । उसले ३ लाख ३६ हजार मत पाएको छ । पछिल्लो मत परिणाम अनुसार उसले ४ सिट पाउँछ ।
१ करोड ८ लाख मत खसेको अनुमानका आधारमा जनमत पार्टी थ्रेसहोल्डको सिमाबाट सुरक्षित देखिन्छ ।
एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । उसले अहिलेसम्म २ लाख ७७ हजार मत पाएको छ । जुन कुल सदर मतको २.८२ प्रतिशतमात्रै हो ।

कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।