काठमाडौँ,१३ मंसिर ।
मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनलाई ४ प्रदेशमा बहुमत प्राप्त भएको छ ।
लुम्बिनी र ,मधेस प्रदेशका भने जनमत र नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएका छन् ।
सत्ता गठबन्धनले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार निर्माणका लागि स्पष्ट बहुमत ल्याएको छ ।

सोमबार रातिसम्मको परिणामअनुसार मधेस र लुम्बिनी प्रदेशमा पहिलोपटक चुनावमा भाग लिएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने देखिएका छन् । प्रदेश–१ मा भने सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच बहुमतका लागि चर्को रस्साकसी छ ।

प्रदेश–१ मा प्रत्यक्षतर्फ २४ सिट जित्दै एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेले समानुपातिकतर्फ करिब १४ सिट जित्ने देखिएको छ । एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले प्रत्यक्षमा २ सिट जितेको छ भने समानुपातिकमा ४ सिट पाउने देखिन्छ । यो प्रदेशमा एमालेसँग गठबन्धन गरेको जसपाले प्रत्यक्षतर्फ जित्न नसके पनि समानुपातिकमा कम्तीमा १ सिट पाउनेछ । यस हिसाबले ९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनलाई बहुमत पुर्‍याउन २ वा ३ सिटको आवश्यकता पर्नेछ ।

प्रत्यक्षतर्फ २७ सिट (कांग्रेस १५, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ३) जितेको कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई पनि बहुमत पुग्न मुस्किल छ । सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब १५ सिट पाउने देखिएको छ । मत गणना जारी रहेको सुनसरी ४ (१) र ४ (२) मा कांग्रेस तथा सुनसरी ३ (२) मा एमाले अगाडि रहेको छ । दुईवटै गठबन्धनलाई समानुपातिकतर्फ १–२ सिटको तलमाथि भएको खण्डमा पनि स्पष्ट बहुमत पुग्ने सम्भावना छैन । यस्तो अवस्थामा समानुपातिकतर्फ १–१ सिट आउने सम्भावना बोकेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल नेसनल अर्गनाइजेसन निर्णायक हुन सक्छन् ।

प्रदेश–१ मा एमाले गठबन्धनबाट हिक्मत कार्की मुख्यमन्त्रीका बलियो दाबेदार हुन् । प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रहेका उनी एमाले स्थायी कमिटी सदस्य हुन् । अध्यक्ष ओलीनिकट भएकाले उनलाई मुख्यमन्त्री हुन सहज छ । एमालेले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उनलाई प्रदेशसभामा उठाएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनबाट भने कांग्रेस केन्द्रीय सदस्यत्रय अमृत अर्याल, प्रदीप सुनुवार, भीम पराजुली र प्रदेश सभापति उद्धव थापा र प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मुख्य दाबेदार हुन् । यीमध्ये थापा समानुपातिकको १ नम्बर सूचीमा छन् भने अन्य तीन जना प्रत्यक्षबाट निर्वाचित भएका हुन् । मुख्यमन्त्रीका दाबेदार रहेका गुरुराज घिमिरे र राजीव कोइराला प्रत्यक्षतर्फ पराजित भएका छन् । कोइराला प्रदेशसभाको अघिल्लो कार्यकालमै मुख्यमन्त्रीका दाबेदार थिए ।

मधेसमा समानुपातिकतर्फको सिट बाँडफाँट नटुंगिए पनि सीके राउत नेतृत्वको जनमत पार्टी निर्णायक हुने देखिएको छ । प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमाले १४, कांग्रेस १३, जसपा र लोसपा ८–८, जनमत पार्टी ६, माओवादी र एकीकृत समाजवादी ४–४ स्थानमा विजयी भएका छन् । विभिन्न दलबाट बागी उठेका ६ जनाले स्वतन्त्र रूपमा जितेका छन् । मतगणना जारी रहेको धनुषा ४ (२) मा एमालेले अग्रता लिइरहेको छ । प्रत्यक्षतर्फ २९ सिट जितेको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आकलन गरिएको छ । प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले–राजपा–राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने अनुमान छ । त्यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपतिकमा करिब ४ सिट पाउने देखिन्छ । यसरी हेर्दा प्रदेशसभाको सत्ता समीकरणको अंक गणित मिलाउन जनमत पार्टीको सिट संख्या निर्णायक देखिन्छ ।

‘जनमत पार्टी जता ढल्किन्छ, त्यसकै सरकार बन्ने सम्भावना छ, जनमत पार्टीबिना कुनै पनि गठबन्धनको बहुमत पुग्ने देखिँदैन,’ मधेस मामिला विश्लेषक चन्द्रकिशोर भन्छन् । यसबाहेक विभिन्न दलबाट बागी उठेर जितेका स्वतन्त्र ६ सांसद पनि मधेसको सत्ता समीकरणमा निर्णायक हुन सक्छन् । दलले टिकट नदिएपछि बागी बनेका उनीहरू आफ्नै दलतिरै ढल्किने सम्भावना पनि छ ।

सत्ता गठबन्धनको सरकार बन्ने अवस्था आएमा कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव प्रमुख दाबेदार हुन् । संविधानसभाका पूर्वसभासदसमेत रहेका यादव रौतहट–१ (२) बाट निर्वाचित भएका हुन् । निर्वाचनको बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि उनलाई मुख्यमन्त्रीका उम्मेदवार भन्दै चिनाएका थिए । यसबाहेक प्रदेशका पूर्वमन्त्री रामसरोज यादव र पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षेत्री पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । एमाले–राजपा गठबन्धन सरकार बन्ने अवस्था आएमा हालका मुख्यमन्त्री लालबाबु राउत नै बलियो दाबेदार हुन् । राजपाबाट मुख्यमन्त्रीको दाबेदार मानिएका पूर्वमन्त्रीद्वय विजय यादव र शैलेन्द्र साह तथा पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झा निर्वाचनमा पराजित भएपछि राउतका लागि बाटो सहज भएको चन्द्रकिशोरको भनाइ छ ।

वाग्मतीमा सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ । प्रत्यक्षतर्फका ६६ सिटमध्ये कांग्रेसले २४, माओवादीले १४, एकीकृत समाजवादीले ५ सिट जितेका छन् । अर्कोतर्फ एमालेले १२, राप्रपाले ७ सिट जितेका छन् । नेमकिपा र हाम्रो नेपाली पार्टीले १–१ सिट जितेका छन् । दोलखाका दुई प्रदेशसभाको मत परिणाम आइसकेको छैन । सत्ता गठबन्धनलाई सरकार बनाउन समानुपातिकबाट १२ सिट ल्याए पुग्छ, जबकि समानुपतिकका ४४ सिटबाट सत्ता गठबन्धनले आवश्यक सिट सहजै ल्याउन सक्छ ।

सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीका लागि रस्साकसी भने हुनेछ । कांग्रेसबाट वाग्मती प्रदेश सभापति एवं पूर्वराज्यमन्त्री इन्द्र बानियाँ प्रमुख दाबेदार हुन् । प्रदेशसभाको अघिल्लो कार्यकालको अन्तिमतिर सत्ता गठबन्धनबीच मुख्यमन्त्री दिने लिखित सहमति भए पनि उनी वञ्चित भएका थिए । प्रदेशको सबैभन्दा ठूलो दलको नेता भएकाले पनि उनको दाबी स्वाभाविक रूपमा बलियो देखिनेछ । सत्ता गठबन्धनभित्रै माओवादीबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल प्रमुख दाबेदार हुन् । धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन खोजिरहेका उनी उक्त क्षेत्र एकीकृत समाजवादीको भागमा परेपछि मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा लडेका थिए । एमालेबाट जगनाथ थपलियालाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ । उनी चितवन–१ (१) बाट निर्वाचित भएका छन् । एमालेबाट मुख्यमन्त्रीका दाबेदार मानिएका रामेश्वर फुयाँल र सानुकुमार श्रेष्ठ पराजित भएका छन् ।

गण्डकीमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि कम्तीमा ३१ सिट ल्याउनुपर्छ । सत्ता गठबन्धनले प्रत्यक्षतर्फका ३६ सिटमध्ये २१ सिट (कांग्रेस १६ र माओवादी ५) जितेको छ । समानुपातिकका २४ सिटमध्ये यी दुई दलले करिब १३ सिट ल्याउने प्रक्षेपण गरिएको छ । अर्कोतर्फ एमालेले १२ सिट जितेको छ भने समानुपातिकमा ११ सिट पाउने अनुमान छ । मनाङ (२) बाट राजीव गुरुङ स्वतन्त्रबाट जितेका छन् भने स्याङ्जाको दुईवटा प्रदेशसभाको परिणाम आएको छैन । यसरी हेर्दा गण्डकी प्रदेशमा सत्ता गठबन्धनले सहजै बहुमत ल्याउनेछ ।

गण्डकीमा हालको सत्ता गठबन्धनको सरकार बन्ने अवस्था भएमा कांग्रेसका सुरेन्द्र पाण्डे प्रमुख दाबेदार हुन् । उनी गोरखा–२ (२) बाट निर्वाचित भएका छन् । गोरखा–२ बाट प्रतिनिधिसभामा जान खोजिरहेका उनलाई सत्ता गठबन्धनले मुख्यमन्त्रीको आश्वासन दिएर त्यहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टिकट दिएको थियो । मुख्यमन्त्रीका आकांक्षी रहेका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको नाम समानुपातिकमा रहे पनि उनी सांसद हुने/नहुने निश्चित छैन । ‘पार्टीले निर्णय गरेको अवस्थामा जिम्मेवारी सम्हाल्न तयार छु, तर यसका लागि अहिलेको सत्ता गठबन्धनलाई थप मजबुत बनाउनुपर्नेछ,’ पाण्डेले भने । एमालेबाट पूर्वगृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्रीका दाबेदार हुन् । उनी मुख्यमन्त्रीको आकांक्षा बोकेर प्रदेशसभामा चुनाव लडेका थिए । गण्डकीमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवस्था आएमा तनहुँ–१ (२) बाट निर्वाचित हरिबहादुर चुमान मुख्यमन्त्री बन्नेछन् ।

लुम्बिनीमा सरकार बनाउने गरी कुनै पनि दलको बहुमत पुगेको छैन । प्रत्यक्षतर्फका ५२ सिटमध्ये सत्ता गठबन्धनले २३ (कांग्रेस १७, माओवादी केन्द्र ५ र लोसपा १) सिट जितेको छ । एमाले नेतृत्वको गठबन्धनले पनि २३ (एमाले १८, जसपा ३ र राप्रपा २) सिट जितेको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट २, जनमत पार्टीबाट १ र स्वतन्त्रबाट ३ जना चुनिएका छन् । सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैलाई सरकार निर्माणका लागि समानुपातिकमा कम्तीमा २१ सिट ल्याउनुपर्नेछ ।

समानुपातिकका ३५ सिटमध्येबाट दुईवटै गठबन्धनलाई आवश्यक संख्या (२१ सिट) पाउन मुस्किल हुने देखिन्छ । यस्तो अवस्थामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक हुने अवस्था आउन सक्छ । समानुपातिकको सिट बाँडफाँट हुन बाँकी रहे पनि उन्मुक्तिले २ र जनमतले १ सिट पाउने आकलन गरिएको छ । स्वतन्त्र सांसदहरू तीनै जना दीपेन्द्र पुन, सुरुल पुन र खड्ग बस्नेत माओवादी केन्द्रबाट बागी उठेका हुन् । सरकार निर्माणका क्रममा उनीहरूको भूमिका पनि केही हदसम्म निर्णायक हुने देखिएको छ ।

सत्ता गठबन्धनले सरकार बनाउने अवस्था आएमा दाङ–३ (१) बाट निर्वाचित डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीका प्रमुख दाबेदार हुनेछन् । त्यसैगरी रूपन्देही–१ (२) बाट निर्वाचित अब्दुल रज्जाक गद्दी र दाङ–२ (१) बाट निर्वाचित राजु खनाल पनि कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार हुन् । चौधरी हालका सहरी विकासमन्त्री हुन् भने रज्जाक संघीय सरकारका पूर्वराज्यमन्त्री हुन् । मुख्यमन्त्रीको दाबीसहित रोल्पा (२) बाट निर्वाचन लडेका कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पराजित भएका छन् ।

एमालेबाट पार्टीको पोलिटब्युरो सदस्य लीला गिरी मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् । उनी प्रदेश सरकारका पूर्ववन तथा वातावरणमन्त्री हुन् । एमालेबाट भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी र भूमिश्वर ढकाल पनि आकांक्षी छन् । माओवादीबाट भने पोलिटब्युरो सदस्य जोखबहादुर महरा मुख्यमन्त्रीको बलियो दाबेदार हुन् । लामो समय अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेका उनले निर्वाचनका बेला मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रचार गरेका थिए । उनी रोल्पा–१ बाट निर्वाचित भएका हुन् । माओवादीबाट मुख्यमन्त्रीका आकांक्षी पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बराल गुल्मी–१ (१) मा पराजित भएपछि महराका लागि सहज भएको छ ।

कर्णालीमा सत्ता गठबन्धनको स्पष्ट बहुमत पुगेको छ । प्रत्यक्षतर्फका २४ सिटमध्ये कांग्रेस र माओवादीले ९/९ सिटमा जितेका छन् । एमालेले ५ सिट र एउटामा स्वतन्त्र उम्मेदवारले जितेका छन् । ४० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि समानुपातिकबाट ३ सिट भए पुग्छ । तर सत्ता गठबन्धनले समानुपातिकको करिब १० सिट (कांग्रेस ५, माओवादी केन्द्र ४ र एकीकृत समाजवादी १) पाउने अनुमान गरिएको छ । समानुपातिकका १६ सिटमध्ये एमालेले ५ र राप्रपाले १ सिट पाउने सम्भावना देखिन्छ । सत्ता गठबन्धन कायमै रहेमा मुख्यमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रबीच रस्साकसी हुने देखिन्छ ।

कांग्रेसबाट हालका मुख्यमन्त्री जीवनबहादुर शाही दोहोरिन चाहन्छन् । २०७४ को निर्वाचनमा कर्णालीमा प्रत्यक्षबाट एकमात्र सिट जितेका उनी माओवादी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । पार्टीले प्रतिनिधिसभामा चुनाव लडाउन खोजे पनि उनी पुनः मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामै चुनाव लडेका थिए । प्रदेशसभाको सबैभन्दा ठूलो दल बन्ने भएकाले पनि मुख्यमन्त्रीको निरन्तरतालाई स्वाभाविक रूपमा दाबी गर्नेछन् । माओवादीबाट प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र रुकुम पश्चिमका पूर्वजिसस संयोजक राजकुमार शर्मा प्रमुख दाबेदार हुन् । माओवादीको प्रदेशभित्रको शक्ति संघर्षमा विष्ट शक्तिबहादुर बस्नेत र शर्मा जनार्दन शर्मानिकट हुन् । ‘माओवादी केन्द्रले मुख्यमन्त्री पाउने अवस्था भएमा यी दुई नेताको बलले काम गर्नेछ,’ माओवादीका एक नेताले भने ।

कर्णालीमा एमालेबाट स्थायी कमिटी सदस्य यामलाल कँडेल मुख्यमन्त्रीको बलियो दावेदार हुन् । अघिल्लो कार्यकालमा मुख्यमन्त्रीको प्रयास गरेका उनी सफल भएका थिएनन् ।

सुदूरपश्चिममा पनि सत्ता गठबन्धन सहज बहुमतमा पुगेको छ । प्रत्यक्षतर्फका ३२ सिटमध्ये सत्ता गठबन्धनले २० सिट (कांग्रेस ११, माओवादी ८ र एकीकृत समाजवादी २) जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ५, एमालेले ३ र स्वतन्त्रले १ सिट जितेका छन् । डडेलधुरा (२) बाट स्वतन्त्र जित्ने ताराप्रसाद जोशी एकीकृत समाजवादीका बागी हुन् । गठबन्धनलाई सरकार निर्माणका लागि समानुपातिकबाट ८ सिट भए पुग्छ, जुन संख्या सहजै ल्याउन सक्ने देखिएको छ ।

सुदूरपश्चिम सत्ता गठबन्धनले सरकार निर्माण गर्ने अवस्था भएमा माओवादीका खगराज भट्ट प्रमुख दाबेदार हुन् । पार्टीका प्रदेश इन्चार्ज रहेका उनलाई सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउने आश्वासनसहित डडेलधुरा (१) बाट प्रदेशसभाको टिकट दिएको थियो । सत्ता गठबन्धनबाटै कांग्रेसका बहादुरसिंह थापा पनि मुख्यमन्त्रीका आकांक्षी रहेका छन् । संविधानसभाका सदस्यसमेत रहेका उनी कांग्रेसका कञ्चनपुर जिल्ला सभापति हुन् । कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी रणबहादुर रावल र गोपाल बोहरा पराजित भएका छन् ।

एमालेबाट प्रत्यक्षतर्फ जितेका तीनै जना (सूर्य नेपाल, चक्र मल्ल र वीरबहादुर मल्ल) संसदीय राजनीतिमा नयाँ अनुहार हुन् । यीमध्ये बैतडीका जिल्ला अध्यक्ष नेपाललाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा हेरिएको छ ।

प्रदेशहरूमा सत्ता समीकरणको जोडघटाउ सुरु भए पनि त्यसको दिशानिर्देशन भने केन्द्रमा बन्ने राजनीतिक समीकरणले तय गर्नेछ । हालको सत्ता गठबन्धन कायमै रहेमा वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनले सरकार चलाउनेछ । सत्ता गठबन्धन कायम हुन नसकेमा सातवटै प्रदेशमा सरकार निर्माणका लागि रोचक प्रतिस्पर्धा हुनेछ । कान्तिपुर