बुटवल, १० मंसिर ।
नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै उनले पदबाट राजिनामा दिएको जनाएका छन् ।

बरालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा नरहे पनि अविचलितरुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पुरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले विविध कमीकमजोरीका वावजुद सत्ता गठबन्धन सामान्यतः सफल भएको समेत उल्लेख गरेका छन् ।

पार्टीले पराजय भोग्नुका पछाडि प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फका सिट वाँडफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेदवार मनोनयन दर्ता भइसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्बोधन गर्न नसकेको लगायत कारण रहेको बरालले उल्लेख गरेका छन् ।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो ।

यसपटक नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा कांग्रेसले ३३, माओवादीले १७, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक÷एक क्षेत्र भागबण्डा गरेका थिए । तर माओवादी केन्द्रले ५ सिट मात्र जितेको छ । माओवादीका बागी स्वतन्त्र उम्मेदवारले ३ क्षेत्रमा जितेका छन् ।