बैतडी,५ मंसिर । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते ९ जना भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरी जवान रमेश साउदको पनि दुर्घटनामा पर‍ी मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
दुर्घटनामा पर्ने सबै नेपाल प्रहरीका कर्मचारीहरू रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते पनि जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् ।

३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख कमलप्रसाद चौधरीले जानकारी दिए ।

घाइते २ जनाललाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका- ४ को थूममा जिप दुर्घटनामा परेको हो । जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।