बाँके,२० असाेज । तीनदिनदेखिकाे वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीले बाँकेकाे डुडुवा गाउँपालिका वडा नं १ मा पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेकाे प्रहरीले जनाएको छ ।

स्थानीयवासी गणेश गुप्ताका अनुसार बाढी घरभित्र पसेपछि अन्नपात, कपडा भिजेर क्षति भएको छ । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयवासी त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीयवासी गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।

अत्यावश्यक सामाग्री लिएर स्थानीयवासी आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अहिले पनि पानी परिरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुममा रहेकाे राप्ती नदीमा पानीको सतहले ६ दशमलव ६३ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

अहिले पनि पानी परिरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत ठाउँमा बाढी आउँछ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको छ ।