पाल्पा,२० असाेज । पुर्वी पाल्पाकाे निस्दीमा दुई जना युवक मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा निस्दी गाउँपालिका-३ झिरुबासका २१ वर्षीय वीरेन सोमै र सोही ठाउँका २१ वर्षीय इन्द्रबहादुर खरु रहेका छन् ।
उनिहरू बुधबार छुट्टाछुट्टै ठाउँमा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

वीरेनको सोही गाउँपालिका- ४ मित्याल र इन्द्रबहादुरको वडा- ५ गल्धामा शव फेला परेकाे प्रहरी उपरीक्षक शाहीले बताए।

उनीहरू दुवै जना १७ गते सोमबार फुलपतिका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा सङ्गै मोटरसाइकलमा गएको बुझिएको छ । दशैंका दिन अबेरसम्म घरमा नफर्किएपछि उनीहरूको खोजी गरिएको थियो ।

मृतक इन्द्रबहादुरको टाउको तथा खुट्टा समेत नभएको अवस्थामा शव भेटिएको शाहीले बताए। उनका अनुसार फरक फरक ठाउँमा रहेको खोलामा छुट्टाछुट्टै शव फेला परेको हो । उनीहरू चढेको मोटरसाइकल समेत फेला परेको छैन। शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा लगिएको छ ।

घटनाको प्रकृति हेर्दा रहस्यमय रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।