काठमाण्डौ,१८ असाेज ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केही ठाउँमा ठूलो वर्षाको सम्भावना मौसमविद् गंगा नगरकोटी जानकारी दिइन् ।
बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने र राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताइन् ।
उनका अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा कम पानी पर्ने अनुमान छ । तर भोलिदेखि यी प्रदेशमा पनि धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आजदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । भोलिदेखि दशैँको टीका र आर्शिवाद थाप्न आहोरदोहोर गर्ने क्रम बढ्छ । यात्रा गर्दा वर्षादी, छाता जस्ता ओतो बोक्न सुझाव दिइएको छ ।