बुटवल,६ असोज ।
नेपालीहरुको महान चाड बडा दशैंको पुर्व सन्ध्यामा रुपन्देहीको मंगलापुरस्थित बोधी भिल्ला रिसोर्टले भोलीदेखि दुईदिने फुड फेस्टिबल सञ्चालन गर्ने भएको छ ।
रिसोर्टले बिहीबार पत्रकार सम्मेलन गरी असोज ७ र ८ गते रिसोर्टको आफ्नै खुल्ला मैदानमा सांगितिक मनोरन्जनसहित फुड फेस्टिबल गर्न लागिएको जानकारी गराएको हो ।

कोरोना महामारीको असरले थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन तथा नेपाली मौलिक संस्कृति संरक्षण संगै नेपाली खानाका परिकारहरुको प्रवद्र्धनका लागि फुड फेस्टिबल गर्न लागिएको रिसोर्टका मानव संसाधन विभाग प्रमुख हेमराज वस्तीले जानकारी दिए ।
उनले नेपालको पुरानो दशैं पर्वको मौलिकता जोगाइराख्न तथा संस्कृति संरक्षणका लागि फुड फेस्टिबल गर्न लागेको बताए ।

निशुल्करुपमा प्रवेश पाइने फेस्टिबलमा खानाका परिकारका १० वटा स्टल रहने छन् । यस्तै पहाडी क्षेत्रमा पाइने पिङ, चंगा उडाउने प्रतियोगिता, खाना खाने प्रतियोगिता, लाइभ म्युजिक,अर्गानिक मम, घोंगी लगायत आकर्षण रहने रिसोर्टका कार्यकारी सेफ यादव पराजुलीले जानकारी दिए ।

फेस्टिबलमा खानाका परिकारमा कम्तीमा १० प्रतिशत छुट दिइने उनले बताए । ७ करोड लगानीमा ३ बिघा क्षेत्रफलमा सञ्चालित बोधी भिल्लामा ५५ जनाले प्रतयक्ष रोजगारी पाएका छन् ।
कोरोना महामारीको असर, चर्को बैंक ब्याज दरले थला परेको पर्यटन व्यवसायलाई गुल्जार बनाउन स्थानीय र प्रदेश सरकारको पनि ध्यान जानुपर्ने ब्यवसायीको माग रहेको छ ।