काठमाडौ,५ असाेज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्दै एक पत्रकारले उनको हातबाट दिइने पुरस्कार नलिने घोषणा गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानकाे उल्लंघन गरेकोले उनको हातबाट पुरस्कार लिन उचित नहुने ठानेर पुरस्कार नलिने निष्कर्षमा पुगेको पत्रकार नकुल अर्यालले बताए ।
जननिर्वाचित संसदले दुई-दुई पटक पारित गरी पठाएको विधेयक रोकेर राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लङ्घन भएकाले उहाँको हातबाट पुरस्कार लिन उचित नहुने ठान्दै आफू पुरस्कार वितरण समारोहमा समेत उपस्थित नहुने अर्यालकाे भनाइ छ ।

संस्थाप्रति उच्च सम्मान रहेपनि राष्ट्रपति भण्डारीको पछिल्लो कदमले संविधानकाे गम्भीर उल्लंघन गर्नुका साथै लाेकतान्त्रिक मूल्यमान्यताप्रति घात गरेको आफ्नो निजी धारणा रहेको भन्दै उनलेे संविधान उल्लङ्घनकर्ताको बाहुलीबाट पुरस्कार लिनु उचित नहुने ठानेर यस्तो निर्णय गरेको बताए ।

डेढ दशक लामाे पत्रकारिता यात्रामा आफूले सधैँ संवैधानिक सर्वाेच्चताकाे पक्षमा कलम चलाएको उनको भनाइ छ । अर्याललाई प्रेस काउन्सिल नेपालले यस वर्षको क्रियाशील पत्रकारिता पुरस्कार दिने निर्णय गरेको थियो ।

त्योसहित अन्य विधाका पुरस्कारहरु भोलि दिउँसो २ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहबीच राष्ट्रपति भण्डारीले प्रदान गर्ने कार्यक्रम रहेको छ ।