बुटवल, ४ असोज ।
प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी फागुन हुने भएको छ ।

असोज १ र २ गते प्रशिक्षणसहित दाङको भालुबाङमा सम्पन्न केन्दीय समिति बैठकले फागुनमा सम्मेलन गर्ने निर्णय गरेको संघका केन्द्रीय संयोजक श्यामलाल पोखरेलले जानकारी दिए । सम्मेलनको तिथि मितिपछि तोकिने बताइएको छ ।

बैठकले मिडिया काउन्सिल विधेयक खारेजीको माग गरेको बैठकपछि संयोजक पोखरेलद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रियसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको मिडिया काउन्सिल विधेयकमा समाचार लेखेकै कारण अपराधीलाई झै लामो अवधिको सजाय प्रस्तावित गरिएकाले खारेजीको माग गरिएको संघले जनाएको छ ।

उक्त विधेयकका विरोधमा आउने पत्रकार संग सम्बन्धित संगठनहरुससित सहकार्य गर्ने बैठकले निर्णय गरेको विज्ञप्तमिा उल्लेख छ ।
त्यस्तै, केन्द्रीय सचिवालय गठन, सल्लाहकार नियुक्ति, त्रैमासिक कार्यक्रम, अक्षयकोष निर्माण लगायतका विषयबारे बैठकमा निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले सल्लाहाकारहरु चयन गर्नुका साथै सचिवालय गठन गरेको जनाइएको छ ।

त्रैमासिक रूपमा भौतिक उपस्थिति वा भर्चुअल कार्यक्रम गर्ने र पत्रकारहरुका लागि अक्षयकोष स्थापना गर्ने निर्णय भएको विज्ञप्तमिा उल्लेख गरिएको छ ।