बुटवल,४ असाेज । बेमाैसमी वर्षाले धानबालीमा क्षति भएका तिलोत्तमा नगरपालिकाका किसानले क्षतिपूर्ति पाएका छन् ।
गत वर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धान बालिमा क्षति पुगेका नगरभित्रका २७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका हुन् । तिलाेत्तमा नगरपालिकाले मंगलबार एक कार्यक्रमकाबीच पीडित किसानहरुलाई राहत रकम ८ लाख ९६ हजार ७४१ रुपैँया रकम वितरण गरेको हो । पीडित किसानले आफ्नो क्षतिको आधारमा २ हजार १० देखि ८ हजार ४८८ रुपैँयासम्म क्षतिपूर्ति रकम पाएका छन् ।

भदौ १० गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सुचिकृत पिडित किसानहरुलाई क्षतिपूर्ति रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले
नगरपालिका किसानहरूकाे अभिभावक भएको भन्दै बेमौसमी बर्षाका कारण समस्यामा परेका किसानहरूलाई पहिलो किस्ता वापतकाे राहत रकम वितरण गरिएको बताए ।
उनले किसानहरुका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । धानबालि भित्राउने बेलामा वर्षाका कारण धान बालिमा क्षति पुगेका किसानलाई केही मात्रामा भए पनि राहत पुगोस् भनेर संघ सरकारसँग समन्वय गरी पीडित किसानलाई पहिलो किस्ता वाफतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि आफूले पहल गरिरहेको बताए ।

नगरप्रमुख खाँणले यो वर्ष पनि समयमै पानी नपर्दा किसानको धानबालि सुकेर क्षति भएका किसानलाई पनि राहत वितरण गरिने बताए । किसानहरूले लगाएको बालि पहेँलो हुने,कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचानसहित उपचारको प्रबन्ध मिलाउनको लागि बालि शिविर गरि सकिएको र दशैँ लगत्तै नगरभित्र के कति बालिमा क्षति भएको छ सो विवरण संकल्न गर्न लागि समिति गठन गर्ने तयारी रहेको बताए ।

राहत रकम वितरणका लागि निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग गरी तीन भागमा विभाजन गरी सोको आधारमा राहत रकम वितरण गरिएको नगरपालिका कृषि अधिकृत दोमलाल भुसालले बताए । १० कट्ठासम्म धानबालि भएका किसानलाई निम्न, ११ देखि ५० कट्ठासम्म खेति गरेकालाई मध्य र सो भन्दा माथि धानबालि लगाएका किसानलाई उच्च वर्ग भनि विभाजन गरेको थियो ।

निम्न वर्गका किसानलाई क्षतिको ६५ प्रतिशत, मध्यम वर्गका किसानलाई ३० प्रतिशत र उच्च वर्गका किसानलाई क्षतिको २० प्रतिशतसम्म राहत रकम प्रदान गरिने कृषि अधिकृत भुसालले बताए । राहत रकम लागि २७० किसानले फर्म भरेको र ती सबै किसानलाई राहत रकम प्रदान गरिएको कृषि अधिकृत भुसालले बताए ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल लगायतले किसानलाई परेका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताए ।