बुटवल,२९ भदौ ।
बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले सञ्चालनमा आउन लागेको पशु बधशाला बुटवलका लागि गौरवको आयोजना भएकोले छिटो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

बुधबार हेफर ईन्टरनेशनलका पदाधिकारीहरु सहित सरोकारवालहरुसँगको छलफल कार्यक्रममा बोल्दै मेयर पाण्डेयले पशु बधशाला बुटवलको गौरवको आयोजना भएकोले छिटो सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

उनले पशु वधशाला छिटो भन्दा छिटो सञ्चालन गर्ने कार्यमा उपमहानगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा बोल्दै उप प्रमुख सावित्रा देवी अर्यालले किसान, महिला दिदी वहिनीहरुको पसिनासंग जोडीएको बधशाला सबैको साथ र सहयोगबाट सम्पन्न हुने बताईन ।

हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्र लोहनीले नेपालमा फोर पि को अवधारणामा सञ्चालनमा आउन लागेको एउटा मात्रै बधशाला भहेको भन्दै यो सञ्चालनमा आएसँगै बुटवल लगायत यस क्षेत्रको मासु, बधको अवस्थामा व्यापक सुधार आउने बताए ।

उनले नमुनाको रुपमा सञ्चालनमा आउन लागेको बधसाला सञ्चालनमा ढिलाई गर्न नहुने बताएका थिए ।

सो अवसरमा हेफरका कार्यक्रम अधिकृत तारा पन्थीले प्रस्तुतीकरण गर्दै बुटवलमा निर्माणाधीन बधशालामा दैनिक ५ सयदेखि एक हजारसम्म खसि,बोका बध गर्न सकिने जानकारी गराए ।

कार्यक्रममा मासु प्रशोधन तथा उपभोक्ता प्रालिका अध्यक्ष कृष्ण प्रसाद पौडेल, स्थानीय महिला अगुवा होमादेवी पौडेल, हेफर ईन्टरनेशन नेपालका कार्यक्रम निर्देशक डा. तिर्थ रेग्मी लगायतले बधशाला बारे आ आफ्नो धारणा राखेका थिए ।