काठमाडौं,२४ भदौ । साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे ।

खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए ।

खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहमा रहेको भूटान नेपाल र भारत दुवैसँग पराजित भएर बाहिरिएको छ ।